समाज


तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १३:२६, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ। हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन्।

दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए। ‘असोज २९ देखि यहाँ दैनिक दुई सयजना बिरामी तथा पर्यटक स्नान गर्न आइरहनुभएको छ,’ अध्यक्ष खड्काले भने।

उनकाअनुसार बिरामीको चाप बढेपछि आजदेखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाई समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा अधिकतम् चार सय जनाले स्नान गर्न मिल्छ । छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ।

तातोपानीको मूलबाट बिरेनुनको गन्धसहित ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा स्नान गरेपछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा, मर्केको, चर्मरोगदेखि प्यारालाइसिसजस्ता रोग निको हुने विश्वास गरिन्छ।

देशका विभिन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय यहाँ आउन थालेका छन्। कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालीन आरतीले बिरामीलाई आर्कषित गरेको छ।

तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीनसय ५० को टिकट व्यवस्था गरिएको छ । उक्त टिकट खरिद गरेका बिरामीले पालोअनुसार एक हप्तासम्म स्नान गर्न पाउँछन् । मुख्य पोखरी बाहिरको पोखरीमा रु एक सयको टिकटले दुई घण्टा स्नान गर्न पाइन्छ।

तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरका संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलब÷भत्तामा खर्च गरी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ।

कुण्डमा वार्षिक २० हजार बढी बिरामी स्नान गर्न आउने गरेका छन् । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापन गरी प्रचार गरेपछि अहिले प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad