ad ad

समाज


पृथ्वी राजमार्ग स्तरोन्नतिको काम अझ लम्बिने

चिनियाँ निर्माण कम्पनीबाट थप १५ महिना समय माग
पृथ्वी राजमार्ग स्तरोन्नतिको काम अझ लम्बिने

दुई लेन पिच सकिएको पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने छिर्कने भञ्ज्याङ- डुम्रे सडक


वाशुदेव मिश्र
भदौ २४, २०८१ सोमबार ८:३६, पाेखरा

धुलो र हिलो अनि खाल्डाखुल्डी। सडक स्तरोन्नतिको काम भइरहेकाले रोकिनुपर्ने बाध्यता पनि छँदैछ। ९०  किलोमिटरको यात्रा पूरा गर्न ६ घण्टासम्म समय खर्चनुपर्छ। 

स्तरोन्नतिको काम समयमै सम्पन्न भएको भए अहिले यो सडकमा ४० देखि ६० किलोमिटरको गतिमा गाडीहरु हुँइकिन्थे। तर, यो भदौसम्म सकिनुपर्ने काम अझै लम्बिने र जनताले सास्ती पाउने  निश्चित छ। 

किनकि, मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर (पूर्वी खण्ड)को ६४ र जामुनेदेखि पोखरासम्म (पश्चिम खण्ड) मा ३० प्रतिशतमात्रै काम सकिएको छ।  भदौसम्म सक्नुपर्ने काम नसकिएपछि ठेकेदार कम्पनीले थप १५ महिनाको समय मागेको छ। तर, त्यो समयभित्र पनि काम सकिनेमा शंका छ। 

वि.सं. २०७८ जेठ २ गते भएको ७ अर्ब ४० करोड ४६ लाखमा सम्झौताअनुसार यही भदौभित्र यो सडक खण्डको काम सक्नुपर्ने थियो। तर सडक निर्माणले गति लिएको छैन।

पछिल्लो पटक पूर्वी खण्डको म्याद १५५ दिन थपिएको छ भने पश्चिम खण्डको १०१ दिन म्याद थप भएको छ। कोरोना भाइरस महामारीमा काम रोकिएको कारण म्याद थपिएको पश्चिम खण्ड योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। थपिएको समय अवधिमा पनि काम नसकिने निश्चित जस्तै छ ।

‘कोभिडका कारण वैशाखमा १५५ दिन म्याद थपिएको थियो। थपिएको म्याद सकिन लागेको छ,’ उनले भने, ‘अब दोस्रो पटक म्याद थप्ने प्रक्रियामा ठेकेदार कम्पनी छ। कम्पनीले आगामी वैशाखसम्म काम सक्छु भनेको छ।’ 

इन्जिनियर पाण्डेकाअनुसार पूर्वी खण्डमा हालसम्म ६६ प्रतिशत मात्रै काम सकिएको छ। जसमा २९ किलोमिटर सडक ४ लेनको बनेका छन् भने ५ किलोमिटर २ लेनको बनेको छ। साना १४ वटा पुलको निर्माण सकिएको छ। ठूला पुल २ वटा सकिएका छन्। एउटा पुलको काम भने आधा भएको पाण्डेले बताए।

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ६६ प्रतिशत काम हुँदा पश्चिम खण्डमा आधा पनि काम भएको छैन। पहिलो पटक म्याद थप गरिएको समयमा पनि काम नसकिने भएपछि दुवैतर्फका ठेक्काको म्याद थप्न निर्माण कम्पनीले माग गरेका हुन्।

चिनियाँ निर्माण कम्पनीले खानेपानीको पाइप, बिजुलीका पोल तथा तार व्यवस्थापनको काम बेलैमा नगरिदिएका कारण सडक निर्माणमा ढिलाइ भएको भन्दै अझै थप समय पाउनुपर्ने माग गरिराखेको छ।

यो सडकको पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले प्राप्त गरेको थियो। २०७७ साल माघ १७ गते ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।  २०७८ साल वैशाख २ गतेदेखि निर्माण कम्पनीले सो क्षेत्रमा काम नै थालेको थियो।  

२०८१ साल वैशाखसम्म निर्माण सक्नेगरी सम्झौता भए पनि कोभिड १९ को कारण देखाउँदै सो खण्डको लागि १५५ दिन म्याद थप गरिएको छ।  

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले लिएको छ। २०७८ जेठ २ गते सात अर्ब ४० करोड ४६ लाखमा गरिएको सम्झौताको म्याद २०८१ साल भदौसम्म कायम गरिएको थियो। त्यसमा हालै १०१ दिन  म्याद थप गरिएको सो आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए। 

काम ज्यादै सुस्त
निर्माणको जिम्मा पाएका कम्पनीहरुको काम ज्यादै सुस्त देखिएको छ। इञ्जिनियर पौडेलका अनुसार काम ढिला हुँदा विनियोजित बजेटको वित्तीय प्रगति पनि कम देखिएको छ। यही गतिले अगाडि बढ्ने हो भने थपिएका दिनहरु पनि अपुग नै हुने उनले स्वीकारेका छन्। 

पृथ्वी राजमार्ग पोखरा र गण्डकी प्रदेशको ‘लाइफ लाइन’ हो।  चिनियाँ सरकारको सहयोगमा सन् १९६७ मा निर्मित यो सडकले पोखरालाई संघीय राजधानी काठमाडौंसँग जोड्छ। 

सडक स्तरोन्नतिले गति नलिएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग पु¥याउने, काठमाडाैँ–पोखराको यात्रा अवधि छोट्याउने र यो क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने लक्ष्य पनि पर धकेलिएको छ। 

कामले गति नलिँदा अपजसको भारी चिनियाँ ठेकेदार कम्पनीमाथि पनि परेको छ। स्तरोन्नतिको कामले गति नलिँदा दाता एसियाली विकास बैंकले पनि असन्तुष्टि जाहेर गरिरहेको छ। 

गएको वर्षको चैत अन्तिममा दाता एसियाली विकास बैंकको गुनासोपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत छन सोन, एसियाली विकास बैंकका प्रमुख, स्थानीय पालिकाका प्रमुख, सडक विभागका अधिकारीसहितको टोलीले पोखराबाट मुग्लिनसम्मको सडकको स्थलगत निरीक्षण पनि गरेको थियो। 

यो सडक निर्माणको विषय कति पेचिलो थियो भने, त्यसको केही समयपछि नेपालका लागि चिनियाँ राजदूत छन सोनले सामाजिक सञ्जाल एक्समा पृथ्वी राजमार्गको पूवी खण्डअन्तर्गको छिर्कने भञ्ज्याङ र डुम्रे खण्डबीचमा पर्ने पिच भइसकेको दुई लेनवाला सडकको तस्बिर राख्दै खुसी प्रकट गरेका थिए। 

यो भनेको उनले कुटनीतिक भाषामा आलोचकलाई जवाफ फर्काएका हुन्। हो, राजदूतले राखेजस्तै पृथ्वी राजमार्गको सो खण्डमा रोड पिच गरिएको छ। तर, पुल नबन्दा, फराकिलो बनाउने उपक्रममा खनिएका डाँडाहरुबाट पहिरो आएर अहिले सडक कुरुप बनेको छ।  

कुल ८४३ मिटर लामो, १० वटा मुख्य जक्सन, ७५ ठाउँमा यू–टर्न गर्न मिल्ने मुग्लिन–पोखरा सडक समयमै सम्पन्न नभएकोप्रति पटक–पटक आवाज उठेको छ। 

काममा स्थानीय पालिकाहरुले भाँजो हालेको गुनासो 

आइतबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्तरोन्नति छिटो सक्न सरोकारवालाहरुको बैठक डाके। बैठकमा पश्चिम खण्डको ठेक्का पाएको चिनियाँ कम्पनीका म्यानेजर चेन योङले निर्माण कार्यमा पालिकाहरुले नै भाँजो हालेको गुनसो गरे। 

शुक्लागण्डकी र म्याग्दे गाउँपालिकाले बेग्लाबेग्लै घाट राखेर निर्माण सामग्रीको कर लिएकोमा उनले आपत्ति जनाए। बैठकमा उनले तोकिएको मितिमा काम नसकिने र थप १५ महिना माग गरेको पनि इञ्जिनियर पौडेलले जानकारी दिए। 

चिनियाँ कम्पनीका म्यानेजर योङले स्थानीय तहपिच्छे रोयल्टी, करको दर फरक/फरक हुँदा काममा समस्या भएको गुनासो गरेका छन्। सडक क्षेत्रमा पर्ने बिजुलीका पोलहरु विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण नगरेकोलगायत उनका गुनासापछि मुख्यमन्त्रीको अध्यक्षतामा भएको बैठकले दोहोरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानून बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ।

यस्तै, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आउजाउ सहज बनाउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि सेती नदीपुलसम्म बिजुलीका तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक तत्काल निर्माण गर्ने सहमति भएको छ। 

त्यसैगरी निर्माण सामग्रीका बारेमा संम्बन्धित पालिकाले स्रोत जान्न पाउनेलगायत पाँचवटा निर्णय भएको पोखरामा मेयर धनराज आचार्यले बताए। आयोजना सम्पन्न हुँदा राजमार्गमा १२ ठूलासहित ४३ वटा कल्भर्ट र पुल बन्नेछन्। 

अहिले भने पूर्वी खण्डमा २९ किलोमिटर ४ लेन सडक बनेको छ भने ५ किलोमिटर २ लेन बनेको छ। साना पुलहरू १४ वटा सकिएका छन्। ठूला पुल २ वटा सकिएका छन्। 

निर्माण सम्पन्न भएपछि सन् २०२९ सम्म यो सडक खण्डको विभिन्न भागमा दैनिक ४४ हजार ६७१ देखि १ लाख ३७ हजार १५३ वटा सवारी (तीमध्ये करिब ४० प्रतिशत मोटरसाइकल) गुड्ने अनुमान गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .