ad ad

समाज


सुन तस्करी प्रकरण अनुसन्धान अब सीआईबीले गर्ने

अब संगठित अपराधमा पनि मुद्दा अघि बढ्ने
सुन तस्करी प्रकरण अनुसन्धान अब सीआईबीले गर्ने

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार १२:१५, काठमाडौँ

गत साउन ३ गते बरामद भएको १०० किलो सुन प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्वमा हुने भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो। 

हङकङ हुँदै त्रिभुवन विमानस्थल भन्सार छलेर भित्र्याइएको १०० किलो सुन राजस्व अनुसन्धानले बरामद गरेर अनुसन्धान अघि बढाइरहेको अवस्थामा अब त्यसको नेतृत्वको सीआईबीको हातमा जाने भएको हो।

बिहीबार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको बैठकले उक्त निर्णय लिएको हो।

बैठकमा सहभागी प्रहरी महानिरीक्षक वसन्त कुँवरका अनुसार सुन तस्करी प्रकरणमा अहिलेसम्म राजस्वले जेजति अनुसन्धान गरेको छ, त्यसको सबै फाइल सीआईबीलाई बुझाएर छानबिन अघि बढाउने निर्णय भएको छ। 

कुँवरका अनुसार अब सीआईबीको नेतृत्वमा राजस्व अनुसन्धान विभागसँग पनि समन्वय गरेर अनुसन्धान हुने भएको छ।

सिंहदरबारको उक्त बैठकले अनुसन्धानको सबै फाइल पनि सीआईबीले तयार गर्ने निर्णय लिएको छ। उक्त प्रकरणमा अब राजस्वसँग भएका र प्रहरीसँग भएका सूचनाहरु एकै ठाउँमा ल्याएर विश्लेषण गर्ने बताइएको छ।

‘यो प्रकरणमा संगठित अपराध र राजस्व छलीका दुईवटा फाइल एकसाथ तयार गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी अर्का अधिकारीले भने, ‘राजस्व छलीमा राजस्व अनुसन्धान विभागले मुद्दा चलाउने छ। संगठित अपराधमा सीआईबीले मुद्दा चलाउने छ।’

यो प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ दिन लामो अनुसन्धान गरेको छ। यसबीचमा नेपालीसहित सुन तस्करीमा मुछिएका चिनियाँ नागरिकसमेत पक्राउ परेका छन्।

विभागले बालुवाटार , सोह्रखुट्टे, टोखा र ठमेलसहित विभिन्न स्थानमा छापा मारेर सुन गाल्ने मेशिनदेखि अन्य कयौँ उपकरण पनि बरादम गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .