समाज


बालाजुमा आगजनी र लुटपाट : पक्राउ पर्नेको संख्या ४६ पुग्यो, अरुलाई पनि खोज्दै प्रहरी

बालाजुमा आगजनी र लुटपाट : पक्राउ पर्नेको संख्या ४६ पुग्यो, अरुलाई पनि खोज्दै प्रहरी

फागुन १ मा बालाजुमा जलाइएको प्रहरीको गाडी


नेपालखबर
फागुन ७, २०७९ आइतबार १७:५४, काठमाडौँ

यातायात मजदुरको आन्दोलनको क्रममा गत फागुन १ गते बालाजुमा भएको आगजनी, लुटपाट र तोडफोडको घटनामा संलग्न ४६ जना पक्राउ परेका छन्।

घटना भएको दिनदेखि आइतबारसम्ममा ४६ जनालाई पक्राउ परिसकेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। 

यीमध्ये १५ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। बाँकी ३१ जनालाई काठमाडौं परिसर र मातहतका निकायले पक्राउ गरेका हुन्।

फागुन १ गते यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीको गाडी जलाएका थिए। गोंगबुस्थित लोत्से मलमा लुटपाट भएको थियो। यी घटनामा यातायात मजदुरसँगै अन्य व्यक्तिको पनि संलग्नता देखिएको छ।

प्रहरीले लुटपाट र आगजनीको घटनामा अरु व्यक्तिको संलग्नता रहेको जनाएको छ। अन्यको पनि पहिचान भइसकेकाले खोजीकार्य जारी रहेको काठमाडौं प्रहरी प्रमुख कार्कीले बताए। 

‘घटनामा संलग्नहरुको पहिचान भइरहेको छ। पहिचान खुलेका कतिपयको खोजी जारी छ। ढिलोचाँडो घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ’, एसएसपी कार्कीले भने। 

पक्राउ पर्नेमध्ये १५ जना लोत्से मलको मोबाइल पसल लुटपाटमा संलगन छन्। बाँकी ३१ जना तोडफोड र प्रहरीको गाडी जलाउने रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई छुट्टा छुट्टैमुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। उनीहरुविरुद्ध पराधिक उपद्रो, चोरी तथा लुटपाटको कसुरमा मुद्दा चलाउने भएको छ।

चोरीपछि काठमाडौं छाडेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेर ल्याइरहेको छ। 

यस्तै घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले बनाएको छानबिन समितिले पनि सोमबारसम्ममा प्रतिवेदन पुझाउने तयारी गरेको छ।

घटनापछि डीआईजी मसाउद आलम खाँ नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको थियो। 

समितिले लगभग काम सकेको र ७ दिनको समयभित्रै प्रतिवेदन बुझाउने एक सदस्यले बताए। समितिको म्याद मंगलबारसम्म छ।

घटनाको पृष्ठभूमि र एकै दिन त्यति धेरै क्षति हुनुमा प्रहरीका कमजोरीबारे पनि केलाउने जिम्मा छानबिन समितिले पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .