काठमाडौँको दरबारमार्गस्थित प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक हबलदार जगतराज खनाललाई ‘पुलिस अफ द मन्थ’ अवार्ड प्रदान गरिएको छ।
उत्कृष्ट कार्यसम्पादन गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पुर्याएबापत उनलाई वैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा पुरस्कार दिइएको हो।
प्रहरी वृत्त (दरबारमार्ग) का अनुसार हबलदार खनालले वन्यजन्तु तथा लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन्। विशेषगरी गत महिना दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट गैँडाको खागसहित तीन जनालाई पक्राउ गर्न सफल भएपछि उनको कार्यक्षमता थप झल्किएको हो।
खनालले यसअघि पनि विभिन्न महत्त्वपूर्ण अपरेसनमा सक्रिय भूमिका निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेको प्रहरी वृत्तले जनाएको छ।
उनको यही समर्पण, व्यावसायिकता र प्रभावकारी कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई ‘पुलिस अफ द मन्थ’ अवार्ड प्रदान गरिएको जनाइएको छ।
प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी नारायण डाँगीले खनाललाई सम्मानपत्रसहित अवार्ड प्रदान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य गर्दै संगठनको गरिमा बढाउन शुभकामना दिएका छन्।
प्रहरी संगठनमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘पुलिस अफ द मन्थ’ पुरस्कार दिने गरिएको छ।
Shares

प्रतिक्रिया