त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट घाइते भएका थप एकजनाको पनि मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सिराहाको औराही गाउँपालिका–१ का रघुनन्दन यादवको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो।
दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी र ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक बलामी रठाकुरको ठेगाना खुल्न बाँकी छ।
दुर्घटनामा चारजना घाइते भएका छन्। गम्भीर घाइते एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिएको बसले थाहा नगरपालिकाका उप–मेयर भरत गोपालीको घरमा पनि क्षति गरेको छ।
Shares

प्रतिक्रिया