समाज


अस्पतालको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान

अस्पतालको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान

मृतक शिशुका बावुलगायत परिवारका सदस्यहरू


सुनिता विष्ट
फागुन १, २०८१ बिहिबार १६:४४, हेटौँडा

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको लापरबाहीले दुई महिने शिशुको ज्यान गएको छ। हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरबाहीका कारण मकवानपुरको मनहरि गाउँपालिका–१ का एक नवजात शिशुको ज्यान गएको हो।

कसरी भयो घटना?
मकवानपुरको मनहरि गाउँपालिका-१ की शारदा विष्टलाई गत पुस १ गते बिहानपख प्रशवपीडा सुरु हुन्छ। उनका श्रीमान् विवेक लटौला तुरुन्तै एम्बुलेन्स बोलाएर शारदालाई हेटौंडा अस्पताल पुर्‍याउँछन्। अस्पतालमा आइपुग्नेबित्तिकै शारदाले छोरालाई जन्म दिन्छिन्।

शिशु जन्मिएपछि उनलाई प्रसूति वार्डमा सारिन्छ। विवेक भर्खरै जन्मिएको शिशुलाई दुई हातले च्यापेर बस्छन्। 

शिशु जन्मिएको करिब १५ मिनेटपछि एक कर्मचारी आइपुग्छिन्। उनले विवेकको हातबाट ती शिशुलाई लिन्छिन् र हतार/हतार नाभी काटिदिन्छिन्। धेरैबेरसम्म बच्चालाई कपडा लगाइिदन नपाएकै कारण शरीर चिसो हुन्छ।

शिशुका बुवा विवेक ती क्षण सम्झँदै भन्छन्, ‘बाबु चिसो भएको थियो। ती स्टाफले बाबुको नाभी काटेर भित्र कोठामा लगिन्। केही बेरमा म बच्चा हेर्न त्यो कोठमा पुगेँ। बच्चा कन्दै रोइरहेको थियो। नाङ्गो बच्चालाई हिटरमा सेकाइरहेको मैले देखेँ।’

केहीबेरमै ती कर्मचारीले विवेकलाई छिटो एम्बुलेन्सको व्यवस्था गर्न भनिन्। विवेकको मन डराइसकेको थियो। उनले के, किन, कसो केही नसोधी एम्बुलेन्सलाई फोन गरे। करिब आधा घण्टापछि एम्बुलेन्स हेटौंडा अस्पताल आइपुग्यो। बच्चालाई थप उपचार गराउनका लागि भरतपुर लानू भनेर ती स्टाफले विवेकको हातमा शिशु थमाइदिइन्।

बिहानको ६ बजेतिरको समयमा बच्चालाई एम्बुलेन्समा लिएर विवेक चितवनतर्फ लागे। उनी भन्छन्, ‘बच्चालाई अक्सिजन लगाइएको थियो। बाटोमा पनि सानो स्वरले रोइरहेको थियो। छिटोछिटो भरतपुर पुर्‍यायौँ। उता पुगेपछि सीएमसी अस्पताल, भरतपुरमा लग्यौँ।’

त्यहाँका डाक्टरहरूले भने, ‘बच्चालाई पोलेको रहेछ। के गर्नुभएको यस्तो?’

‘तब पो म छाँगाबाट खसेजस्तै भएँ,’ विवेक भने।

शिशुको अवस्था नाजुक देखेपछि सीएमसी अस्पतालले पनि भर्ना लिन नमानेको उनी बताउँछन्। बेड खाली छैन भन्दै अर्को अस्पताल लान भनेपछि भरतपुरकै निको अस्पतालमा पुग्छन् विवेक। त्यहाँ पनि बेड खाली नभएको भन्दै भरतपुरस्थित सरकारी अस्पतालमा लैजान सुझाव दिन्छन्। सोही सुझावअनुसार विवेकले आफ्ना छोरालाई सरकारी अस्पतालमा भर्ना गराए। बच्चालाई पोलेको र टाउकोमा पनि दख्खल देखिएको डाक्टरहरूले बताए।

करिब ३५ दिनसम्म सोही अस्पतालमा राखेर शिशुको उपचार भयो। तर त्यतिका दिनसम्म पनि परिवारलाई बच्चा भेट्न नदिइएको मृतक शिशुकी हजुरआमा चन्द्रावती बताउँछिन्। 

'भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो,' उनले भनिन्, ‘अहिले ठिक होला छैन, भरे ठिक होला छैन। त्यस्तो भएपछि हामीले हेटौँडा अस्पतालमा पनि बच्चा पोलिएको विषयमा सोधीखोजी गर्‍यौँ। अस्पतालले गल्ती स्वीकार गर्‍यो। र, उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनायो।’

बच्चाको अवस्थामा सुधार नआएपछि परिवारले थप उपचार गर्न ‘जहाँ लानुपरे पनि लान्छु’ भनेपछि भरतपुर अस्पतालले घर लैजान सुझाव दियो। धुकधुकी श्वास फेरिरहेको बच्चालाई सकेसम्म बचाउने चाहनाले काठमाडौँ लैजाने सोच उनले बनाए।

यता, हेटौंडा अस्पतालका प्रमुख भीमसागर गुरागाईँले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले भेन्डिलेटर जडित एम्बुलेन्समा शिशुलाई लिएर ३६ औं दिनमा काठमाडौं गए। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुगेपछि बच्चाको सीटी स्यान गरियो।

शिशु भुइँमा बज्रिएका कारण टाउकोमा दख्खल पुगेको र पोलेको चोटले पनि बचाउन नसकिने रिपोर्ट आयो। यतिबेलासम्म लटौला परिवारले उपचारका क्रममा १ कठ्ठा जग्गा र भएभरको नगद सकिसकेको थियो। 

उपचार नलाग्ने भनेपछि विवेकले शिशुलाई घर लैजाने अनुमति मागे। तर, भेन्टिलेटरबाट निकालिएको १५ मिनेटमै शिशुको मृत्यु भयो।

बुधबार (हिजो) आफ्नो बच्चाको मृत्यु भएपछि लटौला परिवार शोकमा छ। दुईवटी छोरीपछि जन्मिएको छोरा अस्पतालको लापरबाहीकै कारण गुमाउनुपरेको परिवारको निष्कर्ष छ। 

आफ्नै हातमा जन्मिएको बच्चा हेर्दा स्वस्थ भएको विवेक बताउँछन्। जब ती कर्मचारीले आफ्ना छोरालाई भित्र लगे, त्यसपछि समस्या उब्जिएको उनको दाबी छ।

‘नाङ्गो बच्चालाई हिटरमा धेरैबेर राखेरै पोलिदिए,’ उनले थपे, ‘सीटी स्यानको रिपोर्टअनुसार टाउकोमा पनि निकै चोट लागेको रहेछ। बच्चालाई भुइँमा पनि उनीहरूले नै खसालिदिए। यति गल्ती हुँदाहुँदै पनि अस्पताल प्रशासन मौन छ। उपचारमा सहयोग गर्छु भन्थे। एक रुपैयाँ पाइएन। बच्चाको मृत्यु नै हुँदासमेत वास्ता गरिएको छैन।’ 

के भन्छ हेटौंडा अस्पताल? 
यता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिजस्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँ आफ्नै अस्पतालको गल्ती भएको स्वीकार्छन्।

अस्पताल ल्याउँदा ढिलो भएको कारण शिशुको मुटुको धड्कनमा कमी आएको कारण धड्कन बढाउन हिटरले तातो दिइएको बेला केही पोल्न पुगेको उनले बताए। 

आइतबारसम्म अस्पतालको बोर्ड बैठक बसेर पीडित पक्षलाई न्याय दिलाउने निर्णय हुने अध्यक्ष गुरागाईँको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad