समाज


जनकपुरमा यसरी गरियो रावण बध र लंकादहन

जनकपुरमा यसरी गरियो रावण बध र लंकादहन

नेपालखबर
असोज २२, २०७६ बुधबार ८:५६,

प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लंकादहन पनि गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लंका दहन गरेका हुन्। विजयदशमीको अन्तिम दिन मंगलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो। १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ।

स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लंकादहन गरिएको हो। विगत वर्षझैँ यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ। प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लंकादहन गरेका थिए।

रावण बध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन संघर्षका साथ अगाडि बढेको स्मरण गराउँदै संघर्षपछिको फल मिठो हुने गरेको बताए। रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले बध गर्नुपरेको प्रमुख साहले बताए। भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत छ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ।

गंगासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। यस अवसरमा नागरिक समाज, बुद्धिजीवी, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad