गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ।
एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दा बढी देशका प्रतिनिधिहरु नवौँ विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिएकी हुन्। एनआरएनएको सो सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ। ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पनि एनआरएनएको अनुमान छ।
भोली (बिहीबार)बाट सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने पनि सचिव गुरुङले बताइन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने पनि बताइन्।
असोज २८ गते मंगलबार राजधानीको पाँचतारे होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सो सम्मेलनको उद्घाटन गर्नेछन्। त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ। ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ।
एनआरएनएले सो सम्मेलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ। सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरेकी हुन्।
हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।
Shares

प्रतिक्रिया