समाज


डोटी अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु

डोटी अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु

नेपालखबर
असोज २१, २०७६ मंगलबार ९:१०,

जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ।

अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि बिग्रिएर सो सेवा लिन बिरामीलाई कठिन भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेशिन डोटी अस्पतालमा पठाएपछि अहिले उक्त मेशिनबाट सेवा दिन थालिएको हो।

उक्त डिजिटल एक्सरे मेशिनबाट दैनिक रुपमा सेवा प्रवाह भइरहेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताए। उनले भने, ‘डिजिटल एक्सरे मेशिन ल्याएर हामीले बिरामीलाई सेवा दिन शुरु गरेका छौँ, उक्त सेवाबाट सबै सन्तुष्ट भएका छन्।’

सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाभन्दा डोटीमा डिजिटल एक्सरे मेशिन पहिलो पटक आएको हो। जिल्ला अस्पतालमा यसअघि एक्सरे मेशिन बिग्रिएका कारण स्थानीयवासी सामान्य एक्सरे गर्न पनि दिपायल तथा जिल्ला बाहिर गई महंँगो मूल्य खर्च गरेर सेवा लिन बाध्य भएका थिए। स्थानीय जनता अस्पतालमा डिजिटल एक्सरे मेशिन आएपछि निकै खुशी भएको त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताए।

यस्तै जिल्ला अस्पतालमा एकपछि अर्को सेवा थपिँदै आएपनि अस्पतालमा भने सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ। चार सरकारी चिकित्सकको दरबन्दी रहेको उक्त अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम हुँदै आएको छ। अस्पतालमा नवौँ र दशौँ तहका दुई र मेडिकल अधिकृत दुई गरी चार जनाको दरबन्दी भए पनि एक मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत छन्। उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन्। अस्पतालमा सरकारी चिकित्सक नभएपछि गैरसरकारी संस्था निक साइमन इण्टरनेशनलले दुई चिकित्सकलाई खटाएको छ।

दरबन्दी अनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ। दरबन्दीनुसार चिकित्सक नभए पनि स्वास्थ्यकर्मी भने दरबन्दीअनुसार नै छन्। अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पर्याप्त पूर्वाधार रहे पनि अहिलेसम्म १५ शय्या मात्रै स्वीकृत छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad