आज (सोमबार) पनि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहान पूर्वी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षासमेत भएको छ।
तर आज केही स्थानबाहेक पानी पर्ने सम्भावना खासै नरहेको वरिष्ठ मौसमविद् वरुण पौडेललले बताए।
‘दिउँसो पूर्व र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ,’ नेपालखबरसँग उनले भने, ‘पूर्वका धरान, धनकुटा तथा पश्चिमका सुर्खेत/जुम्लातिर हल्का पानी पर्ने सम्भावना छ।’
काठमाडौं उपत्यकाको आकाश पनि अहिले धुम्म परेको छ। तर दिउँसो बिस्तारै खुल्दै जाने वरिष्ठ मौसमविद् पौडेलको अनुमान छ। आजलाई उपत्यकामा पानी पर्ने खासै सम्भावना नदेखिएको उनले बताए।
नेपालबाट मनसुन अझै बाहिरी नसकेकाले दसैं अवधिभर पानी पर्ने सम्भावना भने रहेको उनले बताए।
‘यद्यपि त्यस्तो ठूलो सिस्टम छैन,’ उनले भने, ‘त्यसैले पानी परे पनि यसो आधा घण्टाजति हल्का हुने हो।’
भोलि दसैंको टीकाको दिन पनि पानी पर्ने सम्भावना छ। खासगरी भोलि दिउँसो पूर्वी क्षेत्रका तिनै धरान, धनुकुटालगायत आसपासका क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।
मध्य र पश्चिम क्षेत्रमा सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको उनले जानकारी दिए।
‘तर भोलि दिउँसो काठमाडौं उपत्यका तथा आसपासका धादिङ, गोरखा क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना देखिन्छ,’ उनले भने।

प्रतिक्रिया