तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लगाउने महिलाका पति-पत्नी अलग्गिने निर्णयमा पुगेका छन्। पति चित्रजंग शाहीले पत्नीसँग सम्बन्धबिच्छेद भएको जानकारी दिएका छन्।
‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायाैँ र समयकाे गतिसँगै अलग हुने निर्णायमा पुगेका छाैं। धन्यवाद शुभचिन्तकहरूमा’, उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्।
दुवैले सम्बन्धबिच्छेदको एउटा पत्रमा हस्ताक्षर गरेको समेत उनले सार्वजनिक गरेका छन्।
‘प्रियजनहरु थुप्रै उतार चढाबबीच हाम्रा २८ वर्ष साथसाथ बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापि खुशीसाथ अलग बस्ने निर्णय गरेका छौं’, नेपाली कागजतमा लेखिएको पत्रमा भनिएको छ।
पत्रमा रोशनी शाही र उनका पति चित्रजंग शाहीले दुवैले हस्ताक्षर गरेका छन्।
चित्रजंग शाहीको फेसबुक पोस्ट
सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भनेर प्रहरी र मिडियालाई जानकारी दिने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले २४ घण्टा नबित्दै बयान फेरेपछि धेरैलाई आश्चर्य लागेको थियो। उनले बयान फेर्नुमा पतिको मुख्य भूमिका रहेको सार्वजनिक भएको थियो।
आइतबार साँझ घटना भएको र आइतबारै प्रहरीलाई जानकारी गराएकी रोशनीले बाहिर रहेका पति काठमाडाैं फर्किएपछि सल्लाह गरी कारबाही अघि बढाउने बताएकी थिइन्। मंगलबार दिउँसोबाट उनले बयान फेरेकी थिइन्। चित्रजंग काठमाडाैं फर्किएपछि उनको बयान फेरिएको थियो।
घटना भएको साँझदेखि नै सभामुख महरा र उनको सचिवालयको निरन्तर सम्पर्कमा रहेका पति चित्रबहादुरले सभामुख महराबाट यस्तो काम हुनै नसक्ने प्रतिक्रिया दिएका थिए।
महराले जबर्जस्ती गर्न खोजेको, कुटपिट गरेको भनेर मिडियामै अन्तर्वार्ता दिने र घटनाबारे प्रहरीलाई जनाकारी गराए पनि किटानी जाहेरी भने उनले पतिसँगको सल्लाहपछि मात्रै दिने बताउँदै आएकी थिइन्। उता पतिले पनि तनहुँबाटै श्रीमतीसँगको छलफलपछि मात्रै के गर्ने भन्ने बारेमा निर्णय गर्न सकिने बताएका थिए।
Shares

प्रतिक्रिया