प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ। प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषणबापतको नम्बर हटाइएको हो।
बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवासम्बन्धी प्रावधानमा संशोधन गर्न लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
हाल विभूषण पाएका प्रहरीले बढुवा मूल्यांकनमा थप २ नम्बर पाउँछन् । बढुवाकै लागि विभूषण लिन शक्तिकेन्द्रहरूबाट दबाब दिने विकृति देखिएपछि बढुवामा यस्तो प्रावधान हटाउन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
प्रहरीको नयाँ ऐनको मस्यौदा हाल रायका लागि लोकसेवा आयोगमा छ । जसमा कानुन तथा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । लोकसेवाबाट आएपछि मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले बताए । प्रहरी बढुवामा एक सय पूर्णांकमा मूल्यांकन हुन्छ ।
जसमा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ । एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ७।५ तथा विभूषणबापत २ नम्बर दिइन्छ।
कामको आधारमा भन्दा पनि सोर्सफोर्सको आधारमा विभूषण पाउने प्रवृत्ति बढेपछि यसले बढुवामा समस्या ल्याएको छ । विभूषण पाउन नसक्दा कतिपय प्रहरी बढुवामा पछि पर्ने गरेका छन् । सोही कारण यससम्बन्धी प्रावधान संशोधन गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया