सोमबार (असार २४ गते) देखि पानी पर्न नरोकिए पनि वर्षाको मात्रा क्रमशः कम हुँदै जाने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार (आज) दिउँसो ‘मनसुन विशेष मौसम बुलेटिन-४’ जारी गरी नेपालनजिक रहेको मनसुनको न्यून चापीय रेखा भोलि सोमबारदेखि क्रमिक रूपमा दक्षिणतिर अर्थात् नेपालबाट टाढा हुँदै जाने भएकाले वर्षाको मात्रा पनि घट्दै जाने सम्भावना देखिएको जानकारी दिएको हो।
‘मनसुन न्यून चापीय रेखा नेपालनजिक भएकाले नेपालमा मनसुन सक्रिय हुने जानकारीसहित २०८१/०३/२३ सम्म सतर्कताका लागि मिति २०८१/०३/२० गते मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो’, विशेष बुलेटिनमा भनिएको छ, ‘सो न्यून चापीय रेखा भोलि मिति २०८१/०३/२४ गतेदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आई भोलि (असार २४) देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ।’
तर अझै केही दिन कोसी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म तथा यिनै प्रदेशका थोरै स्थानमा भारी वर्षा पनि जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ।
महाशाखाले अगाडि भनेको छ, ‘तसर्थ वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।’
हेर्नुहोस् विशेष बुलेटिन-
Shares
प्रतिक्रिया