ad ad

कारोबार


निरोगी खसीबोका छुट्याउन सिङमा हरियो रंग!

निरोगी खसीबोका छुट्याउन सिङमा हरियो रंग!

नेपालखबर
असोज १३, २०७६ सोमबार १०:१०,

उपत्यकाबाहिरबाट दशैका लागि काठमाडौं ल्याइएका निरोगी खसीबोका तथा भेडाच्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाउन सुरु गरिएको छ। सोमबार महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठकाे नेतृत्वमा पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुण नियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित कलंकी खसी बजार पुगेर रङ लगाउन सुरु गरिएको थियो।

त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठ, पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मा र वडा १४ की अध्यक्ष शोभा सापकोटाले च्याङ्ग्राका सिङमा हरियो लगाएका थिए। यसपछि भने पशु चिकित्सकले मात्र सिङमा रङ लगाउन पाउँँछन्। पर्वमा खाइने मासुजन्य परिकारलाई स्वस्थ बनाउन महानगरपालिकाले पशु स्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीव्र बनाएको हो। यसै क्रममा कलंकीको चौपाया बिक्री केन्द्रको निरीक्षण पनि गरियो ।

अनुगमनबाट बजारको अवस्था र आवश्यकता हेरिसकेपछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले खाद्यवस्तुको उत्पादन, ढुवानी, भण्डारण र बिक्रीसम्मका सबै चरणमा खबरदारी आवश्यक रहेको बताउँदै मौसमी अनुगमनबाट बजार व्यवस्थापन गर्न झन जटिल भएको धारणा राखिन्। सहरका बजारहरुमा ठाउँ—ठाउँमा सुधार गर्नुपर्ने, कति ठाउँमा नियमन गर्नुपर्ने अवस्था छ।

उनले थप्दै भनिन्, ‘अब सचेतना पनि बढाउने र कानुन नमान्नेलाई कारबाहीको दायरामा पनि ल्याउने योजना रहेको छ।’ बजार निरीक्षणका क्रममा चौपाया खरिद बिक्री सेवा संघ र काठमाडौं चौपाया खरिद बिक्री कम्पनीका अधिकारीसँग पशु उत्पादन हुने क्षेत्र, ढुवानी गर्ने विधि, ढुवानीकर्ताका दुःख—सुख, बिक्री व्यवस्थापक र उपभोक्ताका सवालमा कुरा गरिएको थियो ।

‘काठमाडौंमा कुनै रोगी खसी बोका, भेडा च्याङ्ग्रा आउँछ भन्ने हामीलाई लाग्दैन’, पशु स्वास्थ्यका विषयमा टिप्पणी गर्दै पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले भने, ‘रोगी भेटिए ढुवानी हुनु अघि नै रोकिने गरेको छ।’ पशु ढुवानी गर्ने क्रममा बिरामी नदेखिएका तर बाटोमा आउँदा बिरामी परेका चौपायाको स्वास्थ्य अवस्था के हो भनेर काठमाडौंमा स्वास्थ्य परीक्षण गरिने महानिर्देशक शर्माको भनाइ थियो।

‘कलंकीमा १ सय ३२ जना व्यापारी छन्। विगत वर्षहरुमा काठमाडौंमा यदि ६५ हजार चौपाया आए भने कलंकीमा करिब ४० हजार आउँथे’, उनले भने, ‘तर अहिले अवस्था यस्तो छैन।’ त्यस्तै, चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले पनि अहिले ६५ हजार चौपाया आए भने कलंकीमा २५ हजार मात्र छिर्ने उल्लेख गर्दै बाँकी बीचबाटोबाटै सहर पस्ने गरेको बताए। यसले खसीबोका जाँच कलंकीमा गरेर मात्र नपुग्ने उनको भनाइ छ। उनले भने, ‘पसल–पसलमा पुग्ने चौपायाको पनि कुरा गर्नुपर्छ ।’

थापाको भनाइसँग सहमति जनाउँदै खरिद बिक्री कम्पनीका अध्यक्ष जनककुमार खड्का भन्छन्, ‘चौपायाको एकीकृत बजार बनाउनुपर्छ। यसले गर्दा राम्रा र नराम्रा छुट्याउन पनि सजिलो हुन्छ। जवाफदेहिता पनि बढ्छ।’

महानगरले पशु सेवा विभागसँग समन्वय गरेर अब स्वस्थ चौपायाको सिङमा हरियो र खान प्रयोग गर्न नमिल्ने खसीको सिङमा रातो रङ् लगाउनेछ। महानगरको कृषि तथा पशुसेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले यसपटक कलंकी, टुकुचा र गोङ्गवु बाइपास गरी ३ ठाउँमा खसी बजार लाग्ने र यहाँ आउने खसी बोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री प्रबन्ध मिलाइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .