समाज


प्रशासकीय र लेखा अधिकृत मिलेर नगरपालिकामा गरे लाखौँ भ्रष्टाचार

प्रशासकीय र लेखा अधिकृत मिलेर नगरपालिकामा गरे लाखौँ भ्रष्टाचार

नेपालखबर
असोज ८, २०७६ बुधबार १०:५०,

भोजपुरको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्लेले लाखौँ रुपैयाँ अनियमितता गरेका छन्।

अधिकृतद्वय कार्की र काफ्लेले कार्यालयको लेटरप्याड, छाप र चेकसमेत साथमा लगेर विभिन्न योजनाहरूको भुक्तानी गरेको साथै आफू अनुकूलका व्यापारीहरूसँग साँठगाँठ गरी निजहरूको मिलेमतोमा विभिन्न सामानहरू खरिद गरी भुक्तानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

लाखौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका अधिकृतद्वय विरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले झुठ्ठा बिवरण पेश गरी भ्रमण प्रतिवेदन समेत पेश नगरी एक लाख ३३ हजार पाँच सय ६८ रुपैयाँ र कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराई आफूले नै झुठ्ठा खरिद आदेश र झुठ्ठा दाखिला रिपोर्ट तयार गरी १५ लाख २३ हजार तीन सय १८ रुपैयाँ भुक्तानी गरी जम्मा रू १६लाख ५६ हजार नौ सय चार रूपैयाँ सत्र पैसा हानी नोक्सानी गरेको अख्तियारले जनाएको छ।

यस्तै, तत्कालीन लेखा अधिकृत राजेश काफ्लेले झुठ्ठा विवरण पेश गरी भ्रमण प्रतिवेदन समेत पेश नगरी बढी रकम भुक्तानी लिएको तथा आवश्यक कानूनी प्रकृया पूरा नगरी भौचर खडा गरी भुक्तानी लिएको रकम रू.२लाख ८१ हजार सात सय ५० र कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराई अफूले नै झुठ्ठा खरिद आदेश र झुठ्ठा दाखिला रिपोर्ट तयार गरी १५ लाख २३ हजार तीन सय १८ रुपैयाँ १७ पैसा भुक्तानी गरी जम्मा रू १८ लाख ५ हजार ६८ रूपैयाँ सत्र पैसा नगरपालिकालाई हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ।

अधिकृतद्वयलाई हानिनोक्सानी गरेको विगो असुलउपर हुन मागदावी लिई बुधबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .