संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ।
स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान गरिरहेका छन्।
मन्त्रालयले संविधान कार्यान्वयन भएपछि आज पहिलोपटक ओपिडीतर्फको टिकट निःशुल्क गरेको हो। यसबाट विपन्न समुदायका बिरामीले थप राहत पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा दैनिक ओपिडीतर्फ ७०० देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउँछन्।
“हामीले आज ओपिडीतर्फको टिकट निःशुल्क गर्छौँ”, अस्पतालका निर्देशक प्राडा केदार सेञ्चुरीले भने।
संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक सेवाबाट वञ्चित नगरिने, व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने र नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने प्रवधान रहेको छ।

प्रतिक्रिया