भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट सय भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।
श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ। मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ।
इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन्।
मुख्यमन्त्री नितिश कुमारले रोग विरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश दिएका छन्।
इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ।
गत साता बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताएका छन्।

प्रतिक्रिया