समाज


चिनियाँ भाषाको ल्यापटपबाट ह्याकिङको रहस्य खोतल्दै प्रहरी

चिनियाँ भाषाको ल्यापटपबाट ह्याकिङको रहस्य खोतल्दै प्रहरी

दीपक खरेल
भदौ २०, २०७६ शुक्रबार १३:४७,

प्रहरीले चिनियाँ ह्याकरका साथबाट बरामद ल्यापटप अनुसन्धानका लागि आफ्नै डिजिटल फरेन्सिक ल्याब (डिएफएल) मा पठाएको छ।

बरामद भएका ६ थान मोबाइल र एउटा डाटा कार्ड समेत डिएफलमा पठाइएको छ। प्रहरी ल्याबमा चिनियाँ भाषामा रहेको ल्यापटपबाट एटीएम ह्याकिङको रहस्य खोतल्ने प्रयास भइरहेको छ।

‘हामीले बरामद ल्यापटप परिक्षणका लागि डिएफएलमा पठाएका छौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले नेपालखबरसँग भने, ‘त्यसमा रहेका विवरण अनुसन्धानको मुख्य पाटो र प्रमाण हुने विश्वास लिएका छौं।’

बोगटीका अनुसार डिएफलबाट अत्याधुनिक त्यो ल्यापटपमा भएका सबै डाटा रिकभर गरी ह्याकिङ सम्बन्धी विवरण खोतल्ने प्रयास भइरहेको छ।

काठमाडौं प्रहरीले गत शनिबारको एटीएम ह्याकिङ प्रकरणमा पक्राउ गरेका छैठौं व्यक्ति, फ्रान्सको पासपोर्ट बोक्ने चिनियाँ छु लुस लीले आफ्नो मोबाइलबाट चिनियाँ सामाजिक सञ्जाल विच्याट समेत डिलिट गरेका थिए। प्रहरीले उनी ह्याकिङ समूहका नाइकेमध्ये एक रहेको आशंका गरेको छ। उनीबाट बरामद विद्युतीय उपकरण पनि अनुसन्धानका लागि डिएफएलमा बुझाइएको छ।

‘ल्यापटपको विवरणबाट कोसँग के कुरा भयो भन्नेदेखि उनीहरु कहाँबाट कसरी आए भन्ने विषय समेत पत्ता लगाउन सघाउने छ’, प्रहरीका एकजना वरिष्ठ प्राविधिज्ञले भने, ‘केही समय लाग्छ तर, अनुसन्धानमा आवश्यक धेरै तथ्य बाहिर ल्याउने प्रयास भइरहेको छ।’

प्रहरी प्रधान कार्यालयमा रहेको डिएफएलमा विदेशबाट तालिमप्राप्त प्राविधिज्ञ सहित आवश्यक परेमा परामर्श दाताको समेत सहयोग लिने ती अधिकारीले बताए।

फरार दुई जनाविरुद्ध डिफियुजन नोटिस
प्रहरीले एटीएम ह्याकिङका लागि गत शुक्रबार नेपाल आएका आठैजना विदेशी नागरिकको पासपोर्टको फोटोकपी उनीहरु बसेको बुटिक होटल माया मनोहरबाट बरामद गरेको छ। पासपोर्टको विवरणले उनीहरु एउटै जहाजमा काठमाडौं आएको अध्यागमन विभागले प्रमाणित गरेको छ।

ह्याकिङ प्रकरणमा प्रहरीले शनिबार पाँचजना चिनियाँ नागरिक र आइतबार विमानस्थलबाट एकजना फ्रान्सको राहदानी बाहक चिनियाँ मूलका नागरिक पक्राउ गरेको थियो। घटनामा प्रत्यक्ष संलग्न रहेका दुईजना फरार छन्।

‘फरार दुईजनाका हकमा मुद्दा बुझाउनु अघि हामीले इन्टरपोल काठमाडौं एनसिबीलाई डिफियुजन नोटिसका लागि पत्र लेखेका छौं’, डीएसपी बोगटीले भने ‘आइतबारसम्म नोटिस जारी हुनसक्छ।’

प्रहरीले आरोपपत्र सहित मुद्दा अदालत नबुझाउँदासम्म फरारका हकमा रेड नोटिस जारी हुँदैन्। अदालतले फरार करार गरेको पक्राउ पूर्जी जारी गरेपछिमात्रै इन्टरपोलले त्यही पत्रका आधारमा रेड नोटिस जारीगर्ने प्रावधान छ। तर त्यसअघि डिफियुजन नोटिस जारी हुन्छ। यो नोटिस जारी भएपछि फरार व्यक्तिलाई इन्टरपोल सदस्य राष्ट्रको प्रहरीले पक्राउ नगरी प्रत्यक्ष निगरानीमा राख्छ।

प्रहरीले चिनियाँ नागरिकहरू क्रमशः चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङलाई शनिबार पक्राउ गरेको थियो। यस्तै आइतबार राती मलेसिया भाग्दै गरेका फ्रान्सको राहदानी बाहक छु लुुस लीलाई पक्राउ गरेको थियो। त्यसलगत्तै तीनजना नेपाली पक्राउ परेका थिए।

ठमेलको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनाधिकृत रुपमा चारजना चिनियाँ ह्याकरलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए। नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका थिए।

प्रहरीले घटनास्थलबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद गरेको थियो। राष्ट्र बैंकले नेपाली बैंकबाट झिकिएको बराबर रकम बरामद भएको जनाएको छ।

प्रहरीले उनीहरुबाट उक्त नेपाली र विदेशी मुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड एक एक थान बरामद गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .