झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले शुक्रबारबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ।
विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले शुक्रबारदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो।
एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार शुरु गरेकोे चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए। प्रमुख चुँडालका अनुसार जीर्ण बनेको धावनमार्गको १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो।
गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्कामा लिएको उहाँको भनाइ छ। आगामी १५ दिनसम्म तोकिएको समयमा विमानस्थल बन्द हुनेछ।
धावनमार्गको मर्मत कार्य शुरु भएसँगै एयरलाइन्स कम्पनीले नियमित उडानको समय तालिका परिवर्तन गरिसकेका प्रमुख चुँडालले जानकारी दिए। रासस

प्रतिक्रिया