ad ad

समाज


सरकारको समीकरण बदल्ने खेल सुरुः देव गुरुङ

सरकारको समीकरण बदल्ने खेल सुरुः देव गुरुङ

नेपालखबर
असार १, २०७६ आइतबार ११:४७,

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समीकरण बदल्ने खेल भईरहेको बताएका छन्।

विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भईरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समीकरण फेरबदलको खेल भईरहेको खुलासा गरेका हुन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाईदा उठाईरहेको र तीनै शक्ति केन्द्रसँगको मिलेमतोमा सरकारको समीकरण फेरबदलको तयारी भईरहेको दाबी गरेका हुन्।

उनले भने, ‘विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ। यहाँका कतिपय दलका नेताहरु यही मुद्धालाई लिएर समीकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन्। कतिपयले यही मुद्धालाई उठाएर पेलेको पेलेइ गरेर आफू सधै सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन्। कतिपयले यही मुद्धालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ।’

नेताहरुको कमजोरीबाट नाजायज फाईदा उठाएर फेरि नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भईरहेको पनि उउनले उल्लेख गरे। नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे।

नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहँदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी उनले गरे।

उनले भने, ‘नेपाल अव विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन। दक्षिण कोरिया मात्रै हुनेवाला छैन। दुईवटा छिमेकी राष्ट्रको वीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहँदैन? त्यो दिशा तर्फ जाँदै छ।’

पश्चिमा शक्तिले फेरि पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्दालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए।

शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै उनले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले पश्चिमा शक्तिकेन्द्रहरु नेपालमा शान्ति कायम हुन नदिने जसरी पनि द्धन्द्ध मच्चाउने र द्धन्द्धका मुद्धा समाधान हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे। नेपालमा फेरि पनि द्धन्द्ध निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षडयन्त्रमा विदेशी शक्ति लागेको उनको तर्क थियो। यही उद्देश्य पुरा गर्नका लागि द्धन्द्धकालिन समयका मुद्धालाई अड्काउने काम भएको दाबी उनले गरे।

विगतमा मुद्धा लगाईएका कयौलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तिब्र हुदै गएको भन्दै उनले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको बताए।

हालै संयुक्तराष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको बताए। संयुक्त राष्ट्रसंघ नेपाल पक्षधर हुँदाहुँदै कुटनीतिक मर्यादा उल्लंघन गरेर नौवटा मुलुकसँग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उनले गरे।

उनले भने, ‘यो मुद्धालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यही मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ।’

मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले एकाधिकार दलाल पूँजीवाद भुमिव्यवस्थापनको मुख्य चुनौति रहेको बताए। बहुराष्ट्रिय कम्पनीले बैकसँग ऋण लिने र घरजग्गाको कारोबार गर्ने र सो कारोबार मार्फत ठुलो परिमाणमा जमिन एकाधिकार दलाल पूँजीवादको कब्जामा जाने गरेको भन्दै उनले त्यसैमा केन्द्रित भएर भुमिसुधार मन्त्रालयले योजना बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .