काठमाडौं बुढानिलकण्ठस्थित हात्तिगौडामा बस्ने किमकुमारी गुरुङलाई जेठ २७ को त्यो घटना अझै झलझली सम्झना आउँछ। महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार भेटिएकी उनलाई लुटिएको आफ्नो साढे दुई तोलाको सुनको सिक्री र केही हजार रुपैयाँ भेटिने आशा छ। थाह पाउँदा–पाउँदै यात्रु भरिएको बसमा उनी लुटिएकी थिइन्।
उनले लुटने समुहका एक जनाको अनुहार प्रहरी सामु सनाखत गरेकी छन्। लुटिएको उनको धनमाल फेला परेको छैन्। किमकुमारी जेठ २७ मा बसुन्धरास्थित कान्तिपुर डेन्टल अस्पताल उपचारका लागि आएकी थिइन्। दाँतको उपचारपछि सधैँ झै उनी बुढानिलकण्ठ घर जान गाडी चढिन्। सार्वजनिक गाडीमा यात्रुको भिड थियो। उनी बसको एउटा छेउमा गएर उभिइन्।
त्यहीँबाट चारजना युवा पनि गाडी चढे। ती चारैजनाले किमकुमारीलाई चारैतर्फबाट घेरे। बस गुड्न थालेपछि ती मध्ये एउटा युवाले बोकेको कालो झोलाले किमकुमारीलाई धक्का दिइरहेका थिए। अन्य युवाले घेरिएकी किमकुमारीको शरीर छाम्न थाले।
‘एउटाले कालो झोलाले धक्का दिने, अर्काले पिठयुँमा छाम्ने गरिरहेको थियो,’ किमकुमारीले घटना विवरण सुनाइन्, ‘मैले के गरेको भनेर झर्किएपछि चारैजना ओर्लिए।’
उनीहरु किमकुमारीलाई गालीगर्दै ओर्लिए। उनीहरु बसुन्धरा र महाराजगञ्जबीचमा पर्ने पुल नजिक ओर्लिए। उनीहरु ओर्लिएपछि किमकुमारीले आफूले लगाएको सिक्री छामिन्। त्यो समुहले सिक्री थुतिसकेको रहेछ। बोकेको झोलामा रहेको केही रकम पनि त्यहाँ थिएन।
‘मैले जोडजोडले मेरो सिक्री लुट्यो भनेर कराउन थालेँ’ उनले भनिन् ‘गाडी स्टाफले महाराजगञ्ज प्रहरी कहाँ पुर्याइदिए।’ उनका अनुसार तत्काल महाराजगञ्ज प्रहरी उनलाई लिएर घटनास्थल पुग्यो। गाडी चालक र सहचालकसँग सोधपुछ गर्याे।
‘ती चारैजना ओर्लिएका ठाँउमा सीसीटीभी क्यामेरा रहेछ,’ किमकुमारीले भनिन् ‘अर्को दिशामा फर्काएर राखिएकोले देखिन सकेनँ।’ उनी आफू लुटिएकोमा पीडासँगै आफूजस्तै अन्य नलुटिउन् भन्ने चाहन्छिन्। ‘खोइ मेरो सामान त भेटिन्न कि तर अरुलाई यस्तो नहोस्’, उनको कामना छ।
पकेटमार पक्राउ
काठमाडौं प्रहरीले एकमहिना लामो अप्रेसनमा ४ महिलासहित ८२ जना पकेटमारलाई नियन्त्रणमा लिएको छ। यीमध्ये किमकुमारीलाई लुटने चारजना समेत छन्। तर उनीहरुबाट लुटिएको धनमाल फेला परेको छैन। उनीहरु घटनास्थलमा रंगे हातपनि पक्राउ परेका छैनन्।
‘हामीले रंगेहात पक्राउ परे चोरी, समुहमा पक्राउ परे लुटपाटमा मुद्दा चलाउछौं,’ परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘दशीसहित पक्राउ नपरे अभद्र ब्यवहारमा मुद्दा चलाउछौं।’ उनका अनुसार जेठ १ देखि आइतबारसम्म पक्राउ परेका आरोपीहरु काठमाडौं उपत्यकाका सार्वजनिक बसमा हुने चोरीमा संलग्न पेशेवर र पटकेहरु हुन्।
‘हामीले एउटै ब्यक्तिलाई नवौं पटक पक्राउ गरेका छौं,’ एसएसपी सुवेदीले भने ‘पक्राउ परेर सजाय भुक्तानपछि पुरानै पेशामा फर्किने गरेको भेटियो।’
परिसरका अनुसार पक्राउ परेका लालध्वज जिम्मा नवौं पटक चोरी आरोपमा पक्राउ परेका हुन्। यस्तै सार्वजनिक सवारी साधनमा चोरी गर्ने सौगात मल्लले आफूलाई प्रहरी निरीक्षक बताउँदै चोरेपछि पीडितलाई अल्झाएर आफ्ना साथी उम्काउने गरिरहेका थिए।
‘यो समूहको निशानामा उपचार, वैदेशिक रोजगार र अन्य कामले काठमाडौं आउने आगन्तुकहरु बढी पर्ने गर्छन्’, परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटी भन्छन, ‘सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जरुरी छ।’ उनका अनुसार आफ्नो धनमालको सुरक्षामा ध्यान दिने र नगद तथा गरगहना देखाएर नलगाउने चोरीबाट बच्ने उत्तम उपाय हो।
पकेटमारका कोड भाषा
काठमाडौं प्रहरीले सार्वजानिक बसहरुमा ६ जनासम्मको समूह बनाएर एउटै बसमा चोरीका घटना हुने गरेको जनाएको छ। यसो गर्दा खाली बसमा समेत भिड हुने र चोरीमा सजिलो हुन्छ।
परिसरका अनुसार पकेटमारहरुले आफूहरुले मात्र बुझ्ने सांकेतिक भाषा प्रयोग गर्ने गर्छन। पकेटमारहरुले पैसालाई द, मोबाईललाई कान, पीडितलाई रामे भन्ने गर्छन्। उनीहरुले पकेटमारीमा संलग्नलाई मास्टर र धेरै पैसा भएको संकेतमा काशी शब्द प्रयोग गर्छन्। यस्तै थोरै पैसा भए टानको द भन्ने गर्छन्।
गाडीलाई काँचा, केटालाई छापा, भन्ने उनीहरुले प्रहरी आएको सूचना दिन केटीला ठुल्दाई आयो भन्ने गर्छन। यस्तै ड्राईभरलाई माम, सहचालकलाई मले भन्ने पकेटमारहरुले चोरी गरिसकेपछि भाग्नलाई टप्की भन्छन्। आफ्नो समूहका साथीलाई गाडीभित्र अगाडी सर भन्नलाई अकल जा र गाडी भित्र पछाडी सर भन्न चिछल जा भन्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया