समाज


धरहरा पुनर्निर्माणमा गुनासै गुनासो

धरहरा पुनर्निर्माणमा गुनासै गुनासो

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १३:२१,

धरहरा पुनर्निर्माणको काम सुरु गरिएको भएपनि स्थानीयबासीको माग सम्बोधन नभएका कारण समस्या देखिएको छ।

धरहरा पुनर्निर्माणको काम सुरु गर्नुपूर्व स्थानीयवासीसँग छलफल नगरेका कारण अहिले दैनिकजसो निर्माण कम्पनी र स्थानीवासीबीच भनाभन तथा विवादको अवस्था देखिने गरेको छ। शुक्रबार पनि धरहरा पुनर्निर्माण स्थलमा यस्तै दृश्य देखियो। ट्रान्सपरेन्सी इन्टरनेसन नेपालको अवलोकन टोलीलाई स्थानीयले अवलोकन गर्नबाटै रोक्ने प्रयास गरे।

राष्ट्रिय पुनर्निर्माणको प्राधिकरणका पदाधिकारी, निर्माण कम्पनी, कन्सल्टेण्ट, प्राविधिक स्थानीय जनप्रतिनिधि र पत्रकारहरु सम्मिलित टोलीलाई स्थानीयले अवलोकन गर्नबाट रोक्ने प्रयास गरेका हुन्। सो क्रममा केही बेर भनाभन र धकेलाधकेलको अवस्था समेत हुन पुग्यो।

काठमाडाैं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा निर्माणसँगै स्थानीयको सामाजिक, आर्थिक तथा सांस्कृतिक मुल्य मान्यताको संरक्षण गर्नुपर्ने बताए। उनले स्थानीयको भावनासँग गाँसिएका कुराहरुमा विचार नपुर्याउँदा समस्या श्रृजना भएको उल्लेख गरे।

उनले स्थानीय रुपमा बर्षौदेखि कायम सांस्कृति मार्गहरुको संरक्षण गरिनुपर्ने र धरहरा हेर्नकै लागि पैसा तिर्नुपर्ने अवस्था आउन नहुने तर्फ प्राधिकरणको ध्यानाकर्षण गराए। स्थानीयको ऐतिहासिक महत्वको विषय हेर्न पनि टिकट काट्नुपर्ने व्यवस्था गरी धरहरालाई व्यापारिकण गर्ने हो भने त्यसको विरोध गर्दै आफ्नै वडाले धरहरा बनाउने चेतावनी दिए।

स्थानीय राजेश डंगोलले सर्वाधिक चासो र महत्वको विषयको धरहरा पुननिर्माण बारे सरकारले स्थानीयवासीसँग छलफल र समन्वय नगरेको गुनासो गरे।

संयुक्त अवलोकन पछि राष्ट्रिय पुननिर्माण प्राधिकरणका वरिष्ठ इन्जिनियर धु्रव प्रसाद पौडेलले धरहराको भित्रि संरचना आधुनिक बनेपनि बाहिरी संरचना पुरानै स्वरुपमा निर्माण गरिने बताए। उनले अध्ययन अनुसन्धानका लागि पुरानो संरचनालाई पनि सुरक्षित राखिने बताए।

उनले निर्माणका क्रममा आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधिहरुसँग पनि निर्माण छलफल गरिएको दाबी गरे।

भ्रष्टाचार अनुगमनमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले स्थानीयको माग सम्बोधन गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ। वरिष्ठ अधिकृत बबिता शर्माले स्थानीयवासीमा सामाजिक सांस्कृतिक रुपमा रहेको विमति प्राधिकरणले सम्बोधन गर्नुपर्ने प्रतिक्रिया दिए।

धरहरालाई व्यापारिकरण खोजिएको भन्दै सर्वत्र विरोध भएपछि निर्माणको सम्पुर्ण जिम्मा संघीय सरकारले लिएर प्राधिकरणको नेतृत्वमा निर्माण प्रक्रिया सुरु गरिएको थियो। ट्रान्सपरेन्सीले २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पनि जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार नै रानी पोखरी निर्माण कार्यको पनि अवलोकन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .