समाज


काठमाडौंमा डेंगुको संक्रमण बढ्दै, महानगरमै ८३ जना बिरामी

काठमाडौंमा डेंगुको संक्रमण बढ्दै, महानगरमै ८३ जना बिरामी

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १०:५३,

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दै गएको छ।

काठमाडौं महानगरमा मात्रै ८३ जना अस्पताल भर्ना भएका महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए। गएको साउन २७ गते महानगरको वडा १५ मा पर्ने चमति क्षेत्रमा पहिलो पटक ३ जनामा यो समस्या देखिएको थियो। तीमध्ये एउटा घरका श्रीमान् श्रीमति नै बिरामी परेका थिए। उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइएको थियो। त्यसपछि वडा १६ र १८ बाट डेंगु भएका बिरामीको बारेमा जानकारी आएको थियो।

रोगका बारेमा जानकारी पाएको शुरुवाती अवस्थाका बारेमा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले रोगविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको र घर घरमा पुगेर रोगका लक्षण र बचावटका उपायका बारेमा जानकारी दिइरहेको बताए। 

गएको वर्ष कार्तिक महिनामा पनि बालाजु र ढुङ्गेधारा क्षेत्रबाट ९ जना बिरामी पहिचान गरिएको थियो। यसरी बिरामी देखिएपछि संक्रमणलाई फैलिन नदिन घरदैलो र सफाइ कार्यक्रम गरिएको थियो। 

वडा १६ का अध्यक्ष मुकुन्द रिजालका अनुसार वडा १६ का अधिकांश भागमा संक्रमण देखिएको छ। बसपार्क, बिष्णुमती नदी किनाराका अधिकांश भाग, नयाँबजार टाउन प्लानिङ् क्षेत्रमा संक्रमण धेरै छ।

महानगरको सहरी स्वास्थ्य महाशाखा प्रमुख बज्रचार्यका अनुसार, जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरको वातावरण यवस्थापन बिभाग, वडा समितिको कार्यालय, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयम्सेविका, उपभोक्ता समिति, टोल सुधार समिति एकै ठाउँमा भएर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानका लागि सचेतनामुलक कार्यक्रम अगाडि बढाउने तयारी भएको छ। यो रोग भाइरसको कारणले लाग्छ । यसका बिरुद्ध खोप वा बिशेष उपचार छैन।

के हो डेंगु?

डेंगु भाइरसको संक्रमणले हुने रोग हो। यो भाइरस एडिस प्रजातिको कालो र सेतो रङ्ग मिसिएको छिरबिरे पोथी लामखुट्टेको सार्छ। विश्वभर ट्रोपिकल मौसम भएका देशहरुमा यसको संक्रमण पाइन्छ। एशिया प्रशान्त क्षेत्रका नेपाललगायत भारत, माल्दिभ्स, श्रीलङ्का तथा अफ्रिका र ल्याटिन अमेरिकामा यसको समस्या छ। सामान्यतया यो रोग गर्मी मौसममा हुने भए पनि जलवायु परिवर्तनको असरले भाइरस बोक्ने लामखुट्टे जाडोमा पनि पाउन थालिएसँगै जाडो मौसममा पनि डेङ्गीको समस्या देखिन थालेको छ।

डेंगु ज्वरोका लक्षणहरु
संक्रमित लामखुट्टेले टोकेको ४८ घण्टामा रगतमा भाइरस फैलिन्छ। यसका लक्षण देखिन ३ देखि १३ दिनसम्म लाग्न सक्छ। सामान्य रुघा खोकी लाग्ने, जोर्नी दुख्ने, आँखाका दाना दुख्ने, सरीरमा डाबर आउने, खानामा अरुचि हुने, जोनी तथा मांसपेशी दुख्ने यसका लक्षण हुन्। त्यस्तै पेट तथा आन्द्रामा गडबढी हुने यस रोगमा रगत जम्ने प्रक्रिया अव्यवस्थित भएर भित्री रक्त श्राव हुने समस्या पनि हुनसक्छ।

यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ। केही बिरामीमा शुरु मै सरीरभरी खटिरा आउँछन्। त्यस्तै शरीरमा डण्डीफोर जस्ता डावरहरु देखिन्छन्। ज्वरो आईरहेको अवस्थामा नाक तथा गिजाबाट तथा छालामुनि रक्तश्राव हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .