पोल्यान्डको वार्सा सहरका लागि नेपाली अवैतनिक वाणिज्यदूत बोधराज सुवेदीमाथि मानव तस्करी गरेको आरोपसहित संसदीय समितिमा उजुरी परेको छ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा परेको उजुरीमा सुवेदीलाई तत्काल निलम्बन गरी अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिन माग गरिएको छ।
समितिमा वैशाख २३ गते दर्ता भएको उक्त उजुरीमा सुवेदीमाथि मानव तस्करी तथा ओसारपसारको आरोप लगाइएको छ। मानव तस्करी तथा ओसारपसारमा संलग्न व्यक्ति वाणिज्यदूतजस्तो पदमा बस्दा नेपालको स्वाभिमान, इमानमा गम्भीर चोट परेको साथै त्यस्तो खराब आचरण भएका व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्ने कुरा सोच्नसमेत नसकिने उजुरीमा उल्लेख छ।
विभिन्न प्रलोभनमा परी सुवेदीलाई वाणिज्यदूतमा सिफारिस गर्ने जर्मनीस्थित तत्कालीन नेपाली राजदूतलाई समेत कारबाहीको माग गरिएको छ। परराष्ट्र मन्त्रालयमा २०८० असोज ३० गते सुवेदीलाई कारबाहीको माग गर्दै निवेदन दर्ता भइसकेको अवस्थामा परराष्ट्र मन्त्री, सचिव र सम्बन्धित अधिकारीलाई समेत समितिमा झिकाउन उजुरीमा माग गरिएको छ।
सुवेदी एनआरएनए पोल्यान्डको अध्यक्ष हुँदा सन् २००९ को नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै ८ जना नेपालीलाई अवैधानिक तरिकाले पोल्यान्ड लगेर मानव ओसारपसारमा संलग्न भएको आरोप छ। यद्यपि उनले भने प्रेस विज्ञप्तिमार्फत ८ जना नभई २ जनालाई मात्र आफूले पोल्याण्ड ल्याएको बताउँदै आएका छन्।
सुवेदीले आफू एनआरएनए पोल्याण्डको अध्यक्ष भन्दै काठमाडौंका रमेशकुमार मल्ल र म्याग्दीका टीका पुनलाई ११ डिसेम्बर २००८ मा भिसाको लागि दूतावासलाई लेखेको पत्रसमेत सार्वजनिक भएको थियो भने पोल्यान्डमा रहेका नेपालीहरूको राहदानी नवीकरण गर्दा अतिरिक्त शुल्क लिएर आर्थिक अनियमितता गरेको आरोप पनि लागेको छ।
सुवेदीलाई कन्सुलर नबनाउन भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समिति पोल्यान्डका सभापति नारायण चालिसेले विभिन्न संघसंस्थाको तर्फबाट परराष्ट्र मन्त्रालय र नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा २०७९ फागुन ४ गते निवेदन दर्ता गराएका थिए।
केपी ओली नेतृत्वको सरकारले सुवेदीको विवादित छविकै कारण नियुक्ति रोकेको थियो। तर, शेरबहादुर देउवाको मन्त्रिपरिषदले २०७९ साउन ९ मा सुवेदीलाई पोल्यान्डको वारसा क्षेत्रमा कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो।
Shares
प्रतिक्रिया