समाज


महानगरमा ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने

महानगरमा ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ५:२२,

काठमाडौं महानगरका हरेक वडा १/१ वटा र केन्द्रमा एउटा गरी ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएका छन् ।

यसका लागि मानव संशाधन महाशाखाले ३ चरणमा सञ्चालन गरेको तालिमबाट ७४ जना ‘मेलमिलापकर्ता’ उत्पादन भएका छन् भने अन्यत्र तालिम लिएका ६० जनाले महानगरले सञ्चालन गर्ने मेलमिलाप केन्द्रमा काम गर्न सूचीकृत हुनका लागि निवेदन दिएका छन् । यसरी १३४ जना मेलमिलापकर्ता महानगरमा काम गर्ने गरी तयार भएका छन् । यीमध्ये केन्द्रमा काम गर्न ४७ जनाको निवेदन परेको छ ।

यसरी काम गर्न इच्छुक मेलमिलापकर्तालाई बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जिम्मेवारीका शपथ ग्रहण गराएको महानगरले जनाएको छ। त्यस्तै तालिम प्राप्त मेलमिलापकर्तालाई सर्वोच्च अदालतका न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरीप्रसाद खतिवडाले प्रमाण पत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएका न्यायाधीश खतिवडाले समाजका सृजना भएका विवादमध्ये १५ प्रतिशत मात्र अदालतमा पुगेको तथ्य उल्लेख गर्दै बाँकी ८५ प्रतिशत मुद्दा सम्बन्धित निकायमा नपुगी समस्याग्रस्त अवस्थामा रहेको बताए। यिनीहरुलाई अदालतमा ल्याउनुपर्छ भन्ने होइन तर विवादलाई त्यत्तिकै छोड्दा, सामान्य समस्या जटिल बन्न सक्छ । औपचारिक न्याय प्रणालीका सीमा हुन्छन् । उनले थप्दै भने, ‘त्यसैले पक्ष/विपक्ष राखेर गरिने मेलमिलाप विवाद निरुपणको सबैभन्दा उत्तम उपाय हो ।’

कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पक्ष÷विपक्षका आफ्ना—आफ्नै अडानका कारण विवाद सृजना हुने उल्लेख गर्दै यी दुवैथरि अडानलाई दुवै पक्षको जित हुने ठाउँमा पु¥याउन मेलमिलापकर्तामा धैर्यता, सहनशीलता र कुशलतापूर्वक काम गर्ने सीप चाहिने बताए। उनले भने, ‘यो काम सजिलो छैन तर पनि म विश्वास गर्छु कि हरेक वडामा एक/एक वडा मेलमिलाप केन्द्र भइसकेपछि महानगरमा आउने मुद्दाको संख्यामा कमी आउनेछ ।’ उनले अहिले मेयर, उपपमेयर र प्रमुख प्रशासकीय अधिकृतले छुट्टाछुट्टै इजलासबाट न्यायिक समाधान खोज्ने काम गरिरहेको जानकारी दिए। मेलमिलापकर्ताको सक्रियताले नगरपालिकामा आउने मुद्दाको चाप कम हुने र यसबाट नागरिकको, मुद्दा मामिलामा हुने समय र सम्पत्तिको खर्च घट्ने मेयर शाक्यले बताए।

कार्यक्रममा बोल्दै महानगरका कानुनी सल्लाहकार टीकाराम भट्टराईले समस्यालाई समयमै पहिचान गर्न सकियो भने अदालतमा पुग्नु पर्ने मुद्दा त्यही सकिने बताए। नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीका अनुसार मेलमिलाप परिषद्बाट स्वीकृत पाठ्यक्रममा आधारित मेलमिलापसम्बन्धी तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउँछन्। यो तालिम ४८ घण्टाको हुनेछ । तालिममा एक पटकमा २७ जनाभन्दा बढी व्यक्तिलाई सहभागी गराउन पाइँदैन ।

मानव संसाधन विकास महाशाखाका प्रमुख बखतबहादुर साउदका अनुसार — सम्पन्न तालिममा, मेलमिलाप गर्ने तरिका, कस्ता मुद्दामा मेलमिलाप गराउन सकिन्छ? स्थितिलाई कसरी सामान्य बनाउने? यससम्बन्धी कला र औजारसम्बन्धी सीप सिकाइएको थियो। त्यस्तै तालिमकर्ता आफैंलाई मुद्दाको पक्ष विपक्ष र मेलमिलापकर्ता बनाएर विवाद मिलाउने प्रयोगात्मक अभ्यास गराइएको थियो। तालिममा वडाको सिफारिसमा हरेक वडाबाट एक जना पुरुष र एक जना महिलालाई सहभागी गराइएको थियो। पक्ष बिपक्षबीच मेलमिलाप गराउन कानुन बिषय पढेर मात्र हुँदैन, यसका लागि तालिम नै लिनुपर्छ । तालिमपछि शपथ ग्रहण हुन्छ । त्यसपछि मात्र पक्ष बिपक्षलाई मेलमिलाप गराउन पाइन्छ ।

मेलमिलाप पुस्तक विमोचन
बुधबार सोही कार्यक्रममा वसन्त आचार्यले लेखेकाे मेलमिलापसम्बन्धी पुस्तक सार्वजनिक गरियो। न्यायाधीश खतिवडा, मेयर शाक्य, महानगरका काुननी सल्लाहकार, मेलमिलाप तालिमका प्रशिक्षकहरुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad