ad ad

समाज


मनाङमा बाढीको बबन्डरः कम वर्षामै ठूलो बिगार किन?

मनाङमा बाढीको बबन्डरः कम वर्षामै ठूलो बिगार किन?

मणि दाहाल
असार १, २०७८ मंगलबार १५:२३,

तीन दिनदेखि निरन्तर रुपमा पानी परेपछि आएको बाढीले मनाङमा निकै ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, सरकारी कार्यालय, काठेपुल र सडक बगाएको छ। केही गाउँका घर डुबानमा परेका छन् भने लघुविद्युत गृह भत्केको छ।

निकै कम वर्षा हुने हिमालपारिको जिल्लामा यो वर्ष बाढीले ठूलो बिगार गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

‘स्थानीय बासिन्दासँग कुरा गर्दा बाढीले मनाङमा यतिको बबन्डर मच्चाएको जानकारीमा नभएको बताउनुभएको छ,’ लामिछानेले भने।

लमजुङको सीमा जोडिएको ताल बजार गाउँ मर्स्याङ्दी नदीमा आएको बाढीले कारण डुबान परेको छ। सदरमुकाम चामेबाट विस्थापित भएका ३ सय जनालाई जिल्ला कारागारको नयाँ भवनमा सारिएको छ।

यो वर्ष मनाङमा प्रिमनसुन वर्षाले पनि बाढी आएको थियो।

हिमालपारिका जिल्लाहरु ‘रेन स्याडो एरिया’मा पर्छन्। अग्ला हिमालहरुले बादल छेक्दा त्यस क्षेत्रसम्म मनसुनी आद्रता निकै कम मात्रै पुग्ने गर्छ। जसका कारण न्यून वर्षा हुने गर्छ। तर, यसपटक सो क्षेत्रमा अत्यधिक वर्षा भएको छ।

मनाङमा अटोमेटिक मौसम मापन केन्द्र नभएको कारण तीन दिनमा कति वर्षा भयो भन्ने तथ्यांक विभागले मंगलबार साँझसम्म उपलब्ध गराउन सकेको छैन।

छिमेकी जिल्ला मुस्ताङको जोमसोममा भने ४५ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् मञ्जु ब्यासीले बताइन्।

‘सुख्खा हुने स्थानमा औसतभन्दा अलिकति मात्रै बढी पानी पर्‍यो भने पनि बाढी आउने र क्षति पुग्ने गरेको छ,’ जल तथा मौसम विज्ञान विभागका कार्यकारी निर्देशक सरजुकुमार वैद्यले भने, ‘त्यो रेड स्याडो जोन हो। यो वर्ष अलि बढी पानी परेकाले ठूलो विपत्ति मच्चाएको देखिन्छ।’

वैद्यका अनुसार आगामी शुक्रबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मनसुन बढी नै सक्रिय रहने बताए।

नेपालको सबैभन्दा बढी पानी पर्ने लुम्लेमा २४ घण्टामा १ सय ७८ र पोखरामा १ सय ५६ मिलिमिटर पानी परेको थियो।

विभागले यसअघि नै यो वर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो वर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी पानी पर्ने अनुमान रहेको बताए।

‘जल तथा मौसम विज्ञान विभागले साउथ एसिया मनसुन आउटलुकमा नेपालको मनसुनले कस्तो चरित्र देखाउँछ होला भनेर पूर्वानुमान गरेको छ,’ पोखरेलले भने, ‘लुम्लेमा २५ सय मिलिमिटर पानी पर्ने स्थानमा थप ३–४ सय मिलिमिटर बढी पानी पर्दा ठूलो फरक पर्दैन। तर २–३ सय मिलिमिटर पानी पर्ने स्थानमा थप ५० मिलिमिटर एकै पटक पर्दा त्यसले निकै ठूलो क्षति गर्छ।’

हिमालभन्दा उत्तरतर्फको भूबनोट दक्षिणतर्फजत्तिकै बलियो नभएको पोखरेलले बताए।

‘मनाङको भूबनोट खुकुलो छ। थोरै पानी पर्दा पनि त्यसले ल्याउने विपत्ति ठूलै हुन्छ,’ पोखरेलले भने।

मनाङमा वार्षिक ३ सयदेखि ४ सय मिलिमिटर वर्षा हुने गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्राज्ञ तथा मौसमविद् मदन श्रेष्ठले वर्षभरि पर्ने पानीको दस गुणा पनि कम पानी एकैपटक पर्दा पनि मनाङजस्तो ठाउँमा समस्या आउने बताउँछन्।

‘मनसुनमा केही वर्षा हुने गरेको हो। त्यस क्षेत्रमा पानी नभई हिँउका लागि ध्यान दिएर धेरै कुरा बनाइएको छ। त्यहाँको घरको बनोट पनि फरक प्रकारको छ,’ श्रेष्ठले भने ‘त्यहाँ वर्षभरिमा २–४ सय मिलिमिटर पानी पर्छ। तर, एकै पटक १० मिलिमिटर पानी पर्‍यो भने पनि त्यसले गडबड गर्नसक्छ।’

उनले मनाङ र मुस्ताङसहितको क्षेत्रमा हिमपात घट्दै गएको र त्यसको सट्टा झरी बढी पर्न थालेको बताए।

‘हिउँका लागि बनेको घरमा पानी बढी पर्दा क्षति पुर्‍याउने नै भयो,’ श्रेष्ठले भने।

प्राधिकरणका प्रमुख कार्यकारी पोखरेल अहिले जसरी हिमालपारिको जिल्लाहरुमा मौसमी गतिविधिमा परिवर्तन भइरहेको छ, त्यसलाई जलवायु परिवर्तनको दृष्टिकोणले हेरिनुपर्ने बताउँछन्।

‘जलवायु परिवर्तनले अर्को छुट्टै जनावर उत्पादन गर्ने होइन। त्यसले राक्षस पनि ल्याउने होइन,’ पोखरेलले भने, ‘यसले ल्याउने भनेको पानीजन्य र तापजन्य विपत् हो। मनाङमा देखिएको यो दुवैको संयोजन हो।’

तर वैद्य मौसम परिवर्तनको बारेमा अझै अनुसन्धान हुन नसकेको र एक वर्षको मात्रै तथ्याकंलाई हेरेर केही भन्न नसकिने बताउँछन्।

‘जलवायु परिवर्तनको असर हो कि होइन भन्ने विषयमा लामो समयको अध्ययन हुनुपर्छ। एकै वर्षको मात्रै घटनालाई हेरेर हुँदैन। तर हिउँदमा भने हिउँ कम पर्न थालेको छ,’ वैद्यले भने।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेर सरकारका विभिन्न निकायहरुलाई सूचित गरिसकेको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड)का जल तथा मौसम विज्ञ डा. सन्तोष नेपालले त्यस क्षेत्रमा पानी कम पर्ने भन्ने विषय सही भएपनि पछिल्लो समयमा अतिवृष्टि र अनावृष्टि बढ्न थालेको त्यसलाई पनि ध्यान दिनुपर्ने बताउँछन्।

‘अतिवृष्टि र अनावृष्टि जहाँ पनि हुनसक्छ। त्यहाँ नहोला भन्ने अवस्था छैन,’ उनले भने, ‘केही वर्षअघि भारतको उत्तराखण्डमा बाढी पहिरो गएको थियो। हाम्रो हिमाली क्षेत्रहरुमा पनि यस्ता घटना अलि बढेको देखिन्छ। विगत केही वर्षदेखि हामीलाई थाहा नभएको वा पहिलो नगएको स्थानमा समेत बाढी आएको देखिन्छ।’

नेपालले के कारणले मनाङमा बढी वर्षा भयो भन्न नसकिने बताए।

‘आगामी वर्ष पनि मनाङमा अहिलेकै जस्तो अवस्था आउँछ कि भन्ने शंका रहन्छ। तर, एकै वर्ष वा एउटा घटनालाई मात्रै लिएर यसै भन्न सकिँदैन,’ नेपालले भने, ‘जलवायु परिवर्तनले एक्स्ट्रिम मौसमी गतिविधिहरुको संख्यामा बढाइदिन सक्छ।’

सो क्षेत्रमा जलवायु परिवर्तनको कारण देखिएको परिवर्तनको विषयमा अनुसन्धान नभएको उनले बताए।

‘पहिलेजस्तो हिउँ नपर्ने र हिउँको चिस्यानले पुग्ने बालीनाली राम्रो हुन नसकेको गुनासो स्थानीयले गर्नुभएको छ,’ नेपालले भने।

मनाङमा विद्युत र टेलिफोन अवरुद्ध भएको छ। मौसम विभागले शुक्रबारसम्म त्यस क्षेत्रको मौसममासुधार हुने सम्भावना कम रहेको जनाएको छ।

‘पहिले मनसुन नेपालमा प्रवेश भयो भनेर भन्थ्यौँ। भोलिपल्ट टन्टलापुर घाम लाग्थ्यो। यो वर्षभने सुरुदेखिनै मनसुन निकै सक्रिय देखिएको छ,’ महानिर्देशक वैद्यले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .