समाज


४० दिन आईसीयूमा बसेर कोरोना जितेकी खुदनी भन्छिन्– अस्पतालबाट दोस्रो जीवन पाएँ

४० दिन आईसीयूमा बसेर कोरोना जितेकी खुदनी भन्छिन्– अस्पतालबाट दोस्रो जीवन पाएँ

गोकुल जोशी
जेठ ३०, २०७८ आइतबार १२:४९,

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी ५५ वर्षीया खुदनी चौधरी जीविकोपार्जनका लागि मजदुरी गर्छिन्।

दिनभर भवन निर्माणको काममा मजदुरी गरेरै आएको ज्यालाले उनका दुई छोरा र एक छोरी सहितको परिवारको गुजारा चलेको छ।

महेन्द्रनगर बजार आसपासका क्षेत्रमा मजदुरी गर्ने खुदनी बैशाख दोस्रो सातातिर बिरामी परिन्। भवन निर्माणको काममा इँटा बोक्ने बेला उनको श्वासप्रश्वासमा समस्या आयो।

छाती दुखेर सास फेर्न गाह्रो भएपछि खुदनीलाई उनको परिवारले उपचारका लागि क्लिनिकमा लगे। त्यहाँ खुदनीलाई निमोनियाको समस्या देखायो। र घरमै औषधि सेवन गरिन्।

तर उनको स्वास्थ्यमा सुधार आएन। बरु श्वासप्रश्वासको समस्याले उनलाई च्याप्दै गयो।

सास फेर्न कठीन भएर थला परेकी उनी बैशाख २१ गते महाकाली अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भइन्। त्यहाँ कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भयो।

KhudniChaudhary 2

स्वास्थ्यकर्मीका अनुसार उनमा श्वासप्रश्वासमा अफठ्यारो, ज्वरो आउने तथा फोक्सोमा निमोनियाका दाग देखिएका थिए।

त्यसपछि कोभिड वार्डमा भर्ना गरिएकी उनलाई अक्सिजनको मात्रा न्यून भएर स्वास्थ्यमा समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा परिवारका सदस्य खुदनी सन्चो हुन्छिन् वा हुदिनन् भन्ने कुराले चिन्तित थिए।

यद्यपि अहिले उनको परिवारमा खुशियाली छाएको छ। ४० दिनसम्म कोरोनाले थला परेर आईसियूमा बसेकी खुदनीले कोरोनालाई परास्त गरेकी छन्।

स्वास्थ्यमा सुधार आएसंगै पछिल्लो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइतवार अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले बताए।

KhudniChaudhary 3

‘कोरोना ठीक भएर अहिले उहाँको स्वास्थ्य अवस्थामा निकै राम्रो सुधार आएको छ। उहाँ दमबाट पनि ग्रसित हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘अस्पतालमा पुग्दा उहाँको अवस्था गम्भीर थियो। तर ४० दिनको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार ल्याउन सफल भएका छौँ।’

जीवनमरणको दोसाँधमा झण्डै डेढ महिना आईसीयूको बेडमा बिताएकी खुदनीलाई स्वास्थ्यकर्मीले दोस्रो जीवन दिएको भन्दै परिवारका सदस्य खुशी छन्।

स्वास्थ्यकर्मीको हेरचाहले आफू मृत्युको मुखबाट फर्किएको उनी बताउँछिन्। ‘अस्पताल पुग्दा मलाई होस नै थिएन। तर नर्स र डाक्टरहरुको हेरचाह तथा औषधि उपचारले कालको मुखबाट जोगिएँ,’ उनले भनिन्, ‘४० दिनपछि कोरोना जितेकी छु।’

महाकाली अस्पतालका चिकित्सकको रातदिनको मेहनत, हेरविचारले आफूले दोस्रो जीवन पाएको बताउँदै उनले डाक्टरहरुलाई आभार व्यक्त गरिन।

‘नर्स र डाक्टरहरुले आफ्नो आमाको जस्तै हेरविचार गर्नुहुन्थ्यो। बारम्बार सोधपुछ गरिराख्ने, समयमा औषधि खुवाउने, चेकजाँच गर्ने गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अस्पतालमा मैले घरपरिवारको जस्तै वातावरण पाएँ।’

कोरोनाका बिरामीले उच्च आत्मविश्वास राख्नुपर्ने तथा संक्रमणका सामान्य लक्षण देखिएमा तत्काल चेकजाँच गराउनु पर्ने उनको सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .