उदयपुरको ताप्ली गाउपालिका ४ पोखरीस्थित कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे बोलेरो दुर्घटना भएको छ।
लहानबाट लखनडाँडातर्फ मिलको मेसिन बोकेर जाँदै गरेको बा१८च १५६७ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
त्यसमा सवार ४ जनामध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० वर्षीय इन्द्र बहादुर बिक रहेका छन्।
सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ वर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाउँ ज्यामिरेका ३० वर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाइते भएका छन्।
प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले घाइतेहरुमध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको छ।
अर्का घाइते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचारपश्चात् घरमा नै छन्।
दुर्घटनामा परी मृत्यु भएका बिकको शव घटनास्थलमै रहेकोले कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय कटारीबाट प्रनाउको टोली खटिएको जनाएको छ।
प्रतिक्रिया