गत वर्षदेखि ५ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरिसकेका हात्तीको समूहबाट एक बाहिरिएपछि यतिबेला १४ हात्तीहरु मात्र यो यात्रामा अनवरत लागि परेको च्यानल न्युज एसियाले जनाएको छ।
यतिबेला एक हात्ती १२ किलोमिटर पछाडि परिसकेको बताइएको छ। यी हात्तीहरु गतवर्ष म्यान्मार नजिकैको चिनियाँ क्षेत्र सिसुवाङबानाको जंगलदेखि हिँड्न थालेका हुन्।
हालै युनान प्रान्तको जंगलमा उनीहरुले एक रात आराम गरेका थिए। त्यसपछि उनीहरु शुक्रबारदेखि युक्सि शहर हुँदै हिँडिरहेका छन्। सो क्रममा एक हात्ती समूहबाट बाहिरिएको हो।
सिन्ह्वाका अनुसार गतवर्ष १६ हात्तीले बासस्थान छाडेर हिँडेका थिए। सो क्रममा एउटा हात्तीले एक छावालाई जन्म दिएको थियो।
१७ मध्ये दुई हात्तीले यात्रा बिचमै छाडेका थिए भने यतिबेला अर्को एक हात्तीले पनि यात्रा त्यागेको हो।
यी हात्तीहरु कहाँ जाँदैछन् भनेर हालसम्म कसैलाई थाहा छैन। हाल हात्तीहरलाई २४ घण्टा नै निगरानी गरिएको छ।
हात्तीलाई बस्तीमा पस्न नदिन तथा तिनीहरुको निगरानी गर्न ४१० मानिसहरु, ३७४ सवारी साधन र १४ वटा ड्रोन खटाइएको छ।
यी हात्तीहरुलाई मानवबस्तीमा पस्न नदिनको लागि निगरानीका लागि खटेका मानिसहरुले पर्याप्त खाना हात्ती नजिक छाड्ने गरेका छन्।
हाल चिनियाँ हात्तीहरुको यस गन्तव्यविहीन यात्राको विषय अन्तराष्ट्रिय चासो बनिसकेको छ।
प्रतिक्रिया