मनसुन (वर्षा गराउने मौसमी प्रणाली) देशका पाँचवटा प्रदेशमा फैलिसकेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो २ बजे विशेष मौसम बुलेटिन जारी गरी शुक्रबार प्रदेश १, २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन आजबाट गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगेको जानकारी दिएको हो।
बुलेटिनमा भनिएको छ, ‘अबको एक दुई दिनमा मनसुन पश्चिम नेपालसम्म नै प्रवेश गर्ने देखिन्छ।’
महाशाखाका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म, कही स्थानमा भारी र थोरै ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना छ।
विशेष बुलेटिनमा भनिएको छ, ‘आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको मौसमविद्ले बताएका छन्।
बुलेटिनमा भनिएको छ, ‘तसर्थ यस महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमान तथा अन्य अद्यावधिक मौसमी सूचना दैनिक रूपमा जानकारी लिन हुन अनुरोध छ।’

प्रतिक्रिया