सरकारले झापाको बिर्तामाडस्थित बीएण्डसी मेडिकल कलेलजलाई सम्बन्धन दिने निर्णय गरेको छ।
चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले बीएण्डसीलाई सम्बन्धन दिन निर्देशन दिएका थिए। ओलीको निर्देशनपछि चिकित्सा शिक्षा आयोगले प्रक्रिया पूरा गरेर बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।
चिकित्सा शिक्षा ऐन अनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई प्रधानमन्त्री ओलीको निर्देशनमा सम्बन्धन दिने निर्णय भएको आयोग स्रोतले जनाएको छ। बीएन्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने भएको हो।
स्रोतका अनुसार आयोगको बैठकमा प्रधानमन्त्री ओली विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेका थिए। ओली बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर बीएण्डसीलाई सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाएका थिए।
स्रोतका अनुसार बैठकमा बीएण्डसीको सम्बन्धनको विषय उठेपछि विवाद भएको थियो। विवाद बढ्दै गएपछि तटस्थ किसिमका सस्दयहरु बैठक छाडेर हिँडेपछि शिक्षामन्त्री श्रेष्ठले निर्णय लेख्न लगाएका थिए।
बैठकमा सहभागी निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया