सुनको सिक्री लुटपाट गरेको आरोपमा वीरगञ्जमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका छन्।
उनीहरुले वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सिक्री लुटेका थिए।
वीरगञ्ज महानगरपालिका ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गरेको अवस्थामा ती महिलाको सिक्री लुट्ने उनीहरुलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले पक्राउ गरेको हो ।
उनीहरुउपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
चोरीको धनमालसहित पक्राउ
विराटनगर महानगरपालिका ८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको धनमालसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त धनमाल अनिल कुमारको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो।
उनीउपर चोरी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया