ad ad

समाज


जागेश्वरले नेतृत्व सम्हालेसँगै वीरमा विवाद, न्याम्स बन्यो असन्तुष्ट

जागेश्वरले नेतृत्व सम्हालेसँगै वीरमा विवाद, न्याम्स बन्यो असन्तुष्ट

यज्ञराज जोशी
जेठ २६, २०७८ बुधबार १०:३६,

गत जेठ ६ गते सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ल्यायो। जसअनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाइयो।

अध्यादेशको परिच्छेद–३ मा उक्त अस्पताललाई केन्द्रीय कोभिड अस्पताल बनाउने व्यवस्था छ। जसमा उक्त अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारी नियुक्त गर्ने व्यवस्था गरेको छ।

अध्यादेशअनुसार निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणी वा नेपाल स्वास्थ्य सेवाको कम्तिमा एघारौं तहको अधिकृत वा वरिष्ठ चिकित्सकलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउन सकिने व्यवस्था गरिएको छ।

सोही व्यवस्थाअनुरुप स्वास्थ्य मन्त्रालयले धेरै अधिकारसहितको उक्त आकर्षक पदमा जेठ १० गते प्रा.डा.जागेश्वर गौतमलाई नियुक्त ग¥यो। गौतम त्यसबेला मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा थिए।

कार्यभार सम्हालेकै दिन गौतमले वीरकी निमित्त कार्यकारी निर्देशक प्रा.डा. शान्ता कँडेल सापकोटाको कार्यकक्ष ‘कब्जा’मा लिए। उनको नेमप्लेट हटाएर आफ्नो राखे। आफूले इच्छाएका दुई जनालाई उपनिर्देशकको जिम्मेवारीमा तोके।

BirHospital mainbuilding face

गौतमले प्रमुख कन्सलटेन्ट डा.अशेष ढुंगाना र नन–कोभिडतर्फको उपचार व्यवस्थापनका लागि वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. नवीन पोखरेललाई उपनिर्देशकको जिम्मेवारी दिए।

वीरमा गौतमको प्रवेशपछि त्यहीँबाट विवाद सुरु भएको हो। गौतमले आफ्नो कार्यकक्ष हडपेपछि असन्तुष्ट बनेकी निमित्त कार्यकारी सापकोटाले कार्यालय नै आउन बन्द गरिन्।

वीर अस्पताल, राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान (न्याम्स) मातहत सञ्चालित छ। प्रतिष्ठान आफ्नै ऐनअनुसार सञ्चालनमा रहेकाले स्वायत्त संस्थामाथि अध्यादेश ल्याएर कब्जा गर्न खोजेको आरोप सापकोटाको छ।

‘मैले अहिलेसम्म कामै गरेको छैन। मेरो कार्यस्थल पनि उहाँले लिनुभएको छ। म नै सर्वेसर्वा हुँ भनेर अस्पतालको नामाकरण नै अलग गरेर डकुमेन्टहरु तयार गर्दै हुनुहुन्छ,’ प्राडा. सापकोटाले नेपालखबरसँग भनिन्, ‘हाम्रो बुझाइ उहाँ आएपछि एउटा भवनमा बसेर कार्यसञ्चालन गर्नुहुन्छ भन्ने थियो। तर पूरै अस्पताल नै हड्प्नु भएको छ।’

सापकोटाले गौतमले आफै सवै सर्वेसर्वा हुँ भनेर अस्पतालको नामाकरण नै छुट्टै गरेर विभिन्न व्यक्तिहरुलाई नियुक्त गर्दै डकुमेन्टहरुमा हस्ताक्षर गरेकोको कुरालाई गम्भीररुपमा लिनुपर्ने उनको भनाइ छ। उनले भविष्यमा त्यसले पाउने कानूनी मान्यता र वैधताको विषयमा पनि सोच्नुपर्ने बताइन्।

प्रा.डा. गौतमले भने वीर अस्पताल युनिफाइड अस्पतालमा रुपान्तरण भइसकेकाले प्रमुख आफै रहेको बताए।

‘प्रमुख प्रशासकीय अधिकारी भएर म आइसकेपछि यहाँ जो मान्छे कार्यकारी थियो उसको पद त स्वतः गयो नि। आर्थिक, प्रशासनिक अधिकारीसहित एउटा मान्छे आएपछि अर्को हाकिम पनि बाँकी रहन्छ र?’ उनले प्रश्न गर्दै भने, ‘सरकारले गरेको निर्णयलाई नमानी विवाद सिर्जना गरेर मिडियाबाजीमा जानु राम्रो होइन। कसैलाई पनि पदको विषयमा विवाद नझिक्न आग्रह गर्छु।’

गौतमले अहिलेको वीर अस्पतालमात्रै केन्द्रीय यूनिफाइड अस्पताल भएको भनेर बुझ्न सबैलाई आग्रह गरे। उनले अब निमित्त निर्देशकले न्याम्ससँग आफ्नो जिम्मेवारीका लागि कुरा गर्नुपर्ने र न्याम्सले उनको व्यवस्थापन गर्ने जनाए।

कोभिड–१९ अस्पतालको प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक जनशक्ति, स्वास्थ्य सामग्री, उपकरण, शय्या लगायतका पूर्वाधारको आकलन गरी आवश्यक व्यवस्था गर्न कोभिड–१९ अस्पताललाई निर्देशन दिने र सोको लागि आवश्यक समन्वय र सहजिकरण गर्ने अधिकार दिइएको छ। यस्तै सम्बन्धित प्रदेश सरकारसँग आवश्यक समन्वय गरी प्रदेशस्थित संघीय वा प्रादेशिक अस्पताललाई कोभिड–१९ एकीकृत प्रादेशिक अस्पताल तोकी सञ्चालन गर्ने अधिकार समेत गौतमलाई दिइएको छ।

प्रमुख प्रशासकीय अधिकारीले प्रभावकारी ढंगबाट काम गर्न नसकेमा वा मन्त्रालयले चाहेमा जुनसुकै बेला हटाउनसक्ने व्यवस्था अध्यादेशमा गरिएको छ।

‘मेरो कार्यकाल यो अध्यादेश रहेसम्म र नेपाल सरकारले मलाई नहटाएसम्म रहने छ। सरकारले हटाएमा वा अध्यादेशको औचित्य सकिएमा म खुशीखुशी यहाँबाट निस्कनेछु। त्यसकारण यसबाट त्रसित हुनुपर्ने वा दुखी हुनुपर्ने छैन,’ गौतमले भने। 

यो पनिः केन्द्रीय अस्पताल सञ्चालनको खाका कोर्दै डा. जागेश्वर, यसरी गर्दैछन् काम

पर्ख र हेरको स्थितिमा न्याम्स
प्रा.डा. सापकोटाले अस्पतालका अध्यक्षलगायतसँग कुराकानी गरेको र पर्ख र हेरको स्थितिमा सबैजना रहेको बताइन्।

‘न्याम्स छुट्टै ऐनबाट बनाएको संस्था हो। यसका आफ्नै नीति नियम छन। अध्यादेश अस्थायी कुरा हो। सधै रहँदैन,’ उनले भनिन्, ‘कोरोनाका बिरामी कम भएको बेलामा वीर अस्पताल जस्तो एकेडेमिक क्षेत्रलाई तहसनहस गराउनुको उद्देश्य के हो त्यो कुरा पनि उठान गर्नुपर्ने जरुरत देख्छु। न्याम्समा मभन्दामाथि अरु पदाधिकारीहरु हुनुहुन्छ। अब कसरी जाने उहाँहरुले सोच्नुहोला।’

न्याम्सका उपकुलपति प्रा.डा. डी.एन. साहले अध्यादेशमार्फत सरकारले नयाँ प्रशासकीय अधिकृतको नियुक्त गरे पनि सापकोटा निर्देशकमा कायमै रहेको बताए।

‘स्वास्थ्य मन्त्रालय वा माथिल्लो निकायबाट पदविहीन गर्ने वा हटाउने कि के गर्ने भन्ने विषयमा कुनै पत्र आएको छैन,’ साहले भने, ‘त्यसैले आजको मितिसम्म वीर अस्पतालको निमित्त निर्देशकमा सापकोटा नै कायम हुनुहुन्छ।’

‘अध्यादेश कार्यान्वयनको क्रममा प्रमुख कार्यकारी अधिकारीको नियुक्ति हो। उहाँले भर्खरै काम गर्न सुरु गर्नुभएको छ,’ साहले थपे, ‘अध्यादेशले स्पष्ट म्यान्डेट दिएको छ। त्यसैअनुसार काम गर्दै जानुपर्छ। हालसालै आउनुभएकाले उहाँको काम हेर्दै जाऔं। के हुन्छ कस्तो हुन्छ अनिमात्र प्रतिक्रिया दिन उचित हुन्छ।’

वीर अस्पताल अध्यादेशअनुसार चल्छ: मन्त्रालय
स्वास्थ्य मन्त्रालयले भने वीर अस्पताल अध्यादेशअनुसार नै चल्ने बताएको छ। नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोभिड–१९ रोकथाम र नियन्त्रण सबैको दायित्व भएकाले कसैले व्यक्तित्व टकराव गर्नु आवश्यकता नभएको बताए।

‘वीरलाई अध्यादेश मुताबिक नै सञ्चालनमा ल्याउँछौं। कसैले व्यक्तित्व टकराव गर्नु आवश्यकता छैन,’ मन्त्री तामाङले भने, ‘कोरोना सकिएपछि सबै सम्पत्ति न्याम्सकै हुनेछ। त्यसमा कुनै द्विविधा हुनेछैन।’

उनले अस्पतालको नेतृत्वमा जो आएपनि कोभिडविरुद्धको लडाइँमा सघाउनु सबैको दायित्व भएको बताए।

‘पदाधिकारीहरुले लडाइँ गर्नुपर्ने आवश्यकता छैन। कोरोनाविरुद्धको लडाइँ सबैको हो,’ उनले थपे, ‘कसैलाई असहयोग गर्दा भोलि आफ्नै परिवारमा समस्यामा परेका बेला उचित उपचार नपाउने समस्या रहन्छ। कोरोनाविरुद्ध लड्न सबैलाई एकजुट भएर लाग्न अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .