नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी ८४ वर्षीय महेश्वरलाल श्रेष्ठको आज बिहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजक समेत रहेका स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसमा एक सरल र निष्ठावान नेताका रुपमा चिनिन्थे।
वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंहलगायतका नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगको सहयात्री समेत रहेका श्रेष्ठले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्याएका छन्।
यसै क्रममा तत्कालीन पञ्चायती व्यवस्थाले उनको सम्पत्तिसहित सर्वश्वहरण गरेको थियो। उनले लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवन समेत व्यतित गर्नुपर्यो।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा महेश्वरलाल श्रेष्ठको निधनको खबरले मलाई मर्माहत र दुःखीत बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्याएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ।'

प्रतिक्रिया