काठमाडौंको न्युरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट १३ लाख रुपैयाँ भन्दा धेरै रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
निषेधाज्ञाको बेला जुवा खेलिएको भन्ने स्थानीयको सूचनाको आधारमा छापा मारेर उनीहरुलाई शुक्रबार दिउँसो न्युरोडस्थित पिपलबोट नजिकै रहेको पूर्णलाल महर्जनको घरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
मल्लको घरको छैटौँ तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेबेलामा भाग्दा काठमाडौँ बाफलका भक्त बलामी घाइते भएका छन्। दाहिने खुट्टा भाँचिएका उनकोे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
पक्राउ पर्नेमा बलामीसँगै काठमाडौँको मनहरा कागेश्वरी नगरपालिका–८ का ४९ वर्षीय विनोद कार्की, काभ्रेपलाञ्चोक दाप्चा घर भई काठमाडौँको बौद्ध बस्ने वर्ष ३३ वर्षीय अजय लामा, काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने मुरारी भण्डारी, रामेछाप सुनाकोठी घर भई हाल भक्तपुरको कौशलटार बस्ने विशाल चौलागाईं, मकवानपुर घर भई काठमाडौँको कलङ्की बस्ने राजु मोक्तान, काठमाडौँ–२२ का ५७ वर्षीय सञ्जीव श्रेष्ठ, काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने वर्ष ३५ का सुमन कार्की, धादिङ ज्वालामुखी गाउँपालिका घर भई हाल काठमाडौँको सतुङगल बस्ने वर्ष ३० का भरत ईटानी रहेका छन्।
त्यसैगरी काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष ४० का छिरिङ लामा, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई काठमाडौँको गोठाटार बस्ने वर्ष ४२ का कल्याण कार्की, गोर्खा सिरानचोकका कुमार लामिछाने, ललितपुरका नरेन्द्र महर्जन, सप्तरीका सुमन खड्का र काठमाडौँ–१८ का पञ्चनारायण महर्जन पनि पक्राउ परेका छन्।
उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको मल्लले बताए।

प्रतिक्रिया