समाज


‘प्रदूषित वातावरणमा बस्नेलाई पनि धूमपान गरेसरहको स्वास्थ्य जोखिम’

‘प्रदूषित वातावरणमा बस्नेलाई पनि धूमपान गरेसरहको स्वास्थ्य जोखिम’

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ९:३७,

वायु प्रदूषित वातावरणमा बस्ने मानिसलाई दिनमै एक प्याकेट चुरोट पिएबराबरको स्वास्थ्य जोखिम हुने एक अनुसन्धानले देखाएको छ।

यसले ‘एम्फाइसेमा’ हुने खतरा भएको चिकित्सकहरुले बताएका छन्। एम्फाइसेमा फोक्सोसम्बन्धी रोग हो। यो रोग लागेपछि मानिसमा श्वासप्रश्वासको समस्या उत्पन्न हुने गर्दछ। गत मंगलबार मेडिकल जर्नल जेएएमएमा प्रकाशित अनुसन्धानमा प्रदूषणको जोखिमका बारेमा बताइएको छ।

जेएएमएको दश वर्षे अनुसन्धानमा ४५ देखि ८४ वर्षका ७ हजार मानिसहरुलाई समावेश गरिएको थियो।  एक दशकसम्म गरिएको अनुसन्धानमा अमेरिकाको बाल्टिमोर, शिकागो, लस एन्जेलस, न्युयोर्क सिटी, सेन्ट पल, मिनिसोटा, विन्स्टन सालेम तथा नर्थ क्यारोलिनाका मानिसहरु समावेश थिए।

सिटी स्क्यानको माध्यमबाट अनुसन्धानकर्ताले प्रदूषित हावा र वातावरणमा बस्ने मानिसहरुमा ‘इम्फाइसेमा’ विकास भएको देखिएको थियो।  ‘इम्फाइसेमा’ चुरोट सेवन गर्ने मानिस र प्रदूषित वातावरणमा बस्ने मानिस दुवैमा देखिने रोग हो। यसले समय क्रमसँगै घातक रुप लिन्छ।

एक दशकको अनुसन्धानमा अध्ययनकर्ताले चुरोट सेवन गर्ने र प्रदूषित वातावरणमा बस्ने मानिसहरुको समय–समयमा परीक्षण गरिरहन्थे।

सो क्रममा वैज्ञानिकले मानिसहरुको फोक्सोले विस्तारै काम गर्न छाडेको तथा कमजोर भएको पाए। अध्ययनकर्ताले विशेषगरी एक पटकमा मानिसले श्वास फेर्दा कति मात्रामा हावा लिन्छन् भन्ने अध्ययन गरेका थिए।  सुरुवातमा अध्ययन थाल्दा अनुसन्धानमा समावेश मानिसहरु स्वस्थ थिए तर विस्तारै उनीहरुको फोक्सोमा समस्या देखिएको थियो।

चुरोट तान्ने र प्रदूषित वातावरणमा बस्ने मानिसमा एकै रोग देखा परेको अनुसन्धानमा देखिएको छ। ‘दिनभर प्रदूषित वातावरणमा बस्नु र दिनमा एक प्याकेट चुरोट सेवन गर्नुको उस्तै असर परेको देखिएको छ’, कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टरका प्राध्यापक डाक्टर आर ग्राहम बारले भने, ‘यसले शारीरिक रुपमा मानिसलाई चाँडै वृद्ध देखाउँछ।’

रोयल कलेज अफ फिजिसियन्सका सल्लाहकार स्टेफेन होलगेटले भने, ‘यस्ता अध्ययनले वातावरण प्रदूषण न्यूनीकरण गर्न मद्दत गर्दछ। आजभोलि वातावरण प्रदूषणको स्तर निकै बढेको छ। हामी प्रत्येक समय श्वास फेरिरहेका हुन्छौँ। वातावरण नै प्रदूषित छ भने यसले घातक अवस्था निम्त्याउँछ।’

यसअघि पनि संयुक्त राष्ट्रसंघको अध्ययनले प्रदूषित वातवरणले श्वासप्रश्वासको समस्या निम्त्याउने देखाएको थियो। सन् २०११ मा मात्र प्रदूषित हावामा बस्ने महिलाका १ लाख ७ हजार शिशुको पेटमै निधन भएको थियो।

वातावरणलाई स्वच्छ बनाउन विश्वका सबै नागरिक र संस्थाहरु एकजुट भएर लाग्नुपर्ने अध्ययनले सुझाव दिएको छ। सीएनएनबाट अनुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad