आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए।
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो।
उनीसँगै अन्य डाक्टर तथा नर्सहरुमाथि पनि आक्रमण भएको थियो। हाल चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ।
स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन्।
“घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,” मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्।
महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताएका छन्।
डाक्टरमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरुमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाई छ। पीटीआई

प्रतिक्रिया