अमेरिकापछि यतिबेला बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस चीनको प्रयोगशालामा बनेको भनाइमा जोड दिन थालेको हो।
हालैमात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे नयाँ अध्ययन गर्न आफ्ना अनुसन्धानकर्तालाई आदेश दिएका थिए।
बाइडेनले डब्लूएचओको अनुसन्धानलाई बेवास्ता गरेपछि नै बेलायती खोपमन्त्री नदीम जहावीले डब्लूएचओलाई कोरोनाको स्रोत पत्ता लगाउन बृहत अनुसन्धान गर्न भनेका थिए।
बाइडेनले ९० दिनभित्र अनुसन्धान प्रतिवेदन अमेरिकी सरकारलाई पेश गर्न आफ्ना अनुसन्धान एजेन्सीहरुलाई बताएका छन्।
बेलायती जासुसी संस्थाले त्यहाँको पत्रिका सन्डे टाइम्ससँग कोरोना प्रयोगशालामा बन्न सम्भव भएको बताएको थियो।
यस विषयको समाचार सार्वजनिक भएपछि बेलायती खोपमन्त्री जहावीले भनेका थिए,‘डब्लूएचओलाई कोरोनाबारे अनुसन्धान पूरा गर्न अनुमति दिइनुपर्छ ताकि कोरोना भाइरसको स्रोत फेला पर्न सकोस्। हामीले यसमा कुनै कसर बाँकी छाड्नु हुँदैन।’
‘वुहानको मौनता चिन्ताजनक विषय हो। भविष्यमा हामी आफैंलाई बचाउन सकौं र वास्तवमा कोरोनाको उत्पत्ति कसरी भयो भनेर बुझ्न लुकेका तथ्य खोल्न आवश्यक छ’ बेलायतकै कन्जेर्भेटिभ पार्टीका सांसद टोम टुंगेडट भन्छन्,‘डब्लूएचओसँगै विश्वभरका सहयोगीले मिलेर यो अनुसन्धान गर्नुपर्छ।’
यसअघि डब्लूएचओको टोलीले चीनको वुहानमै पुगेर कोरोनाको उत्पत्तिबारे अनुसन्धान गरेको थियो।
वैज्ञानिकहरुले कोरोना भाइरस प्रयोगशालाबाट फैलिएको कुनै आधार र संकेत नभेटिएको बरु यो भाइरस जनावरबाट जनावर हुँदै मानिसमा फैलिएको देखिएको बताएका थिए।
डब्लूएचओको यो अनुसन्धानलाई अमेरिका र बेलायतले यतिबेला शंका गरेका हुन्। उनीहरु कोरोना भाइरस चीनले जानाजान प्रयोगशालामा बनाएको भनाइमा अघोषित रुपमा सहमत छन्। बीबीसी
Shares

प्रतिक्रिया