समाज


महासंघ उपत्यका प्रदेशले भन्यो : बजेट विभेदपूर्ण

महासंघ उपत्यका प्रदेशले भन्यो : बजेट विभेदपूर्ण

नेपालखबर
जेठ १६, २०७८ आइतबार १२:१९,

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले हिजो प्रस्तुत बजेट सञ्चार क्षेत्रका लागि विभेदपूर्ण रहेको बताएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गरी महासंघ, प्रदेशले सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाली मिडिया क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्रयास गरेपनि अपर्याप्त र विभेदपूर्ण रहेको जनाएको हो।

‘नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने महत्वपूर्ण भूमिका निभाउँदै आएका साना लगानीका पत्रपत्रिका, रेडियो, अनलाइन लगायत आमसञ्चारमाध्यमका लागि बजेटले सम्बोधन नै गरेको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पत्रकारितालाई यो अवस्थासम्म ल्याई पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका, बेथिती, विसंगतीका विरुद्ध खरो रुपमा उत्रने, जहिल्यै लोकतन्त्र, शान्ति, स्थिरता र परिवर्तनका पक्षमा कलम चलाउने साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमलाई बेवास्ता गरेर अघि बढ्न खोज्नु सरकारको गम्भीर कमजोरी रहेको हाम्रो ठहर छ।’

महासंघ उपत्यका प्रदेशले कोभिड–१९ को महामारीका कारण गम्भीर संकट खेपीरहेका साना लगानीका सञ्चारमाध्यमको संरक्षणका लागि बजेटमार्फत कुनै पनि व्यवस्था नगर्नुले पत्रकारिता जगतलाई नै कमजोर बनाउन योजनावद्ध रुपमा चालिएको कदम त हैन भनेर प्रश्न गर्नुपर्ने अवस्था समेत सिर्जना भएको जनाएको छ।

समितिले साना लगानीका सञ्चारमाध्यमहरुको संरक्षण तथा प्रवद्र्घनका लागि कुनै न कुनै तवरबाट उचित व्यवस्थापन गर्न केन्द्र सरकारसँग माग गरेको छ। साथै, प्रदेश सरकार र स्थानीय तहलाई पनि आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा साना लगानीका सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्घनका लागि विशेष राहत प्याकेज घोषणा गर्न पनि माग गरेको छ।

‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, प्रेस संग्राहलय स्थापना, पत्रकार कल्याणकारी कोषमा लोककल्याणकारी विज्ञापन वापत उपलब्ध गराउने रकमको १० प्रतिशत जम्मा गर्ने व्यवस्था तथा कोभिड–१९बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा आदी बजेटका सकरात्मक पक्ष हुन्’ महासंघ प्रदेशले भनेको छ, ‘बजेटमा श्रमजिवी पत्रकारको लागि रु ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल पत्रकारले व्यहोर्ने व्यवस्था मिलाइने उल्लेख छ। नेपाल पत्रकार पत्रकार महासंघ, उपत्यका प्रदेश समिति उक्त दुर्घटना बीमालाई स्वास्थ्य बिमामा परिणत गर्न पुनः माग गर्दछ।’

पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्थाका लागि धन्यवाद ज्ञापन गर्दै सञ्चारकर्मी र आम नागरिक समान भएकाले हरेक नेपाली नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने प्रदेश समितिले जोड दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .