ad ad

समाज


बडहडी खोलामा रोकिएन अवैध उत्खनन्, दुइवटा जेसिबी प्रहरी नियन्त्रणमा

बडहडी खोलामा रोकिएन अवैध उत्खनन्, दुइवटा जेसिबी प्रहरी नियन्त्रणमा

शैलेन्द्र महतो
जेठ १५, २०७८ शनिबार ५:१०,

धनुषाको बटेश्वर गाउँपालिकास्थित बडहाडी खोला किनारबाट प्रहरीले दुईवटा जेसिभी नियन्त्रणमा लिएको छ। अवैध ढंगले गिट्टीबालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिभी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

इप्रका सखुवा र बटेश्वर प्रहरी चौकीको संयुक्त गस्तीटोलिले शुक्रबार साँझ ज १ क ५९० र नम्बर बिनाएको एक गरी दुईवटा जेसिबी नियन्त्रणमा लिएको हो।

बटेश्वर गाउँपालिका १ विजयपुर टोलभन्दा उत्तर र चित्रपुरभन्दा पश्चिममा अवस्थित बडहडी खोला किनारबाट ती जेसिभी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए। ‘नदी किनारमा निजी जग्गामा भन्दै उनीहरुले झण्डै १५ फिट गहिरो खाडल बनाएर गिटीबालुवा निकालेको पाइयो,’ सुनारले नेपालखबरसँग भने, ‘मापदण्ड विपरीत ग्राइभेल निकालिरहेको अवस्थामा शुक्रबार साँझ ती जेसिभी नियन्त्रणमा लिएका हौँ। उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाएका छौँ।’

दुबै जेसिबी अहिले बटेश्वर प्रहरीचोकीमा राखिएको छ। दुबै जेसिबीलाई कारबाहीको लागि जिल्ला समन्वय समिति धनुषामा बुझाइने प्रहरी निरीक्षक सुनारले बताए।

ती जेसिभीले उत्खनन् गरेकै ठाउँबाट यसअघि सात पटकसम्म जेसिभी, स्काइभेटर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको उपकरण पालिका र समन्वय समितिले समान्य जरिबाना गरेर छाडिदिने गरेका कारण खोलामा अवैध उत्खनन् रोएिको छैन।

गत वर्ष विजयपुर टोलका युवाहरु सोहि स्थानमा उत्खनन रोक्न जाँदा उत्नन गर्नेहरुको समूहले रड प्रहार गरी स्थानीय संजय महतोलाई गम्भीर घाइते बनाएका थिए । तर, प्रहरीले आक्रमण गर्नेलाई कुनै कारबाही गरेन । गाउँपालिकाले नै घाइतेलाई उपचार खर्च दिएर मिलापत्र गराएको थियो।

उनीहरुले गाउँपालिकामा अवैध उत्खनन नगर्ने भनेर कागज गरेका छन्। तर उनीहरुले नै अहिले पटकपटक खोलामा अवैध उत्खनन गर्दै आएका छन्। यसप्रति नियमन गर्ने निकाय गाउँपालिकाका जनप्रतिनिधिहरु मौन बस्ने गरेका प्रहरीको भनाइ छ।

जनप्रतिनिधिले खोला ठेक्का लगाउने, तर अनुगमन नगर्ने, मापण्दड विपरीत खन्दा कारबाही नगर्ने गरेको कारण खोला खन्ने ठेकेदारको मनोवल बढेको छ। श्रोतका अनुसार अवैध खोला दोहन गर्नेहरुले सम्बन्धित जनप्रतिनिधिहरुलाई मोटो कमिसनसमेत दिने गरेका छन्। त्यसकारण उनीहरु मौन बसेको स्थानीयको आरोप छ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत फरार छन्। खोला खन्ने गाउँकै ठेकेदार भए पनि गाउँपालिका उपाध्यक्ष प्रमिलादेवी महताले आफुलाई खोलामा अवैध उत्खनन भइरहेको विषयमा जानकारी नभएको दाबी गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .