उपत्यकामा थप कडाइ गर्दै एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ।
मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कडाइ गर्दै जेठ २० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार हिँडडुल, बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ गरिएको छ भने खाद्य पसल पनि बन्द गर्ने निर्णय भएको छ।
तरकारी पसल भने खुला रहनेछन्।
मानिसको आवतजावत ठप्प पार्ने, मास्क नलगाइ हिड्नेलाई अनिवार्य रुपमा जरीवाना गर्ने, विवाह ब्रतबन्ध बढीमा ७ जनाको मात्रै उपस्थितिमा गर्न पाइने भएको छ।
यस्तै थपिएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थामाथि पनि थप कडाइ गर्ने निर्णय भएको छ।
वाणिज्य बैंक उपत्यकामा तीन वटा र बिकास बैंकका दुई वटा मात्रै शाखा सञ्चालन गर्न दिने निर्णय भएको छ।
पत्रकारलाई पनि थप कडाइ गर्ने निर्णय भएको पराजुलीले बताए। सूचना विभागका प्रेस पास हुने र अन्यको हकमा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ।
सार्वजनिक र नीजि निर्माण पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ।
निर्माण सामग्री ढुवानीमा पनि रोक लगाइने भएको छ। तरकारी, फलफूल, दुध, मासु पसल यसअघिकै समयमा सञ्चालन हुन पाउने छन्।
तर अन्य खाद्यान्न र किराना पसल समेत बन्द गर्ने निर्णय भएको छ।

प्रतिक्रिया