निषेधाज्ञा थपबारे निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक मंगलबार बस्दै छ।
दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा निषेधाज्ञा थप गर्नेबारे छलफल हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
एक महिना लामो निषेधाज्ञा बिहीबार राति १२ बजेबाट सकिने भएपछि थप गर्न लागिएको हो।
कोरोना संक्रमण केही दिनयता उपत्यकामा कम भएकाले यही रुपमा निषेधाज्ञा लम्ब्याउने सम्भावना रहेको प्रजिअ भट्टराईले बताए।
तर गृह मन्त्रालयले भने राजनीतिक गतिविधि बढ्नसक्ने देखिएकाले थप कडाइ गर्न सीडीओहरुलाई निर्देशन दिएको छ।
पछिल्ला केही दिनयता उपत्यकामा कोरोना संक्रमण कम हुँदै गएको तथ्यांकले देखाएको छ।
स्वास्थ्य मन्त्रालयले अहिलेकै अवस्थामा एक महिनाभित्र कोरोना संक्रमण दर कम हुने आकलन गरिएको जनाएको छ।
तर मन्त्रालयले नै स्वास्थ्य संकटकाल लगाउनेसम्मको तयारी समेत गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषदबाट स्वास्थ्य संकटकाल लगाउनेबारे घोषणा गर्नका लागि माग हुनासाथ पठाउने गरी फाइल तयार गरेर राखिएको छ।
उपत्यकाका तीन जिल्लाले भने मंगलबार मोटामोटी मोडालिटीबारे छलफल गरेर बुधबार थप निषेधाज्ञाको घोषणा गर्ने तयारी छ।
उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको हो।

प्रतिक्रिया