समाज


आजदेखि बनेपा ‘सिल’, मर्निङवाक गर्न समेत प्रतिबन्ध

आजदेखि बनेपा ‘सिल’, मर्निङवाक गर्न समेत प्रतिबन्ध

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ४:२७,

काभ्रेका अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च गतिमा बढ्न थालेपछि बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिसहित सरोकारवालाको सोमबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।

कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्ने निर्णय भएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले जानकारी दिए। आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गरिने उनको भनाई छ।

यो अवधिमा औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको उनले जानकारी दिए।

नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउन आग्रह गरिएको छ। साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ।

जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो।

कारोना सङ्क्रमणको दोस्रो लहर सुरु भएदेखि बनेपामा ६९७ जनामा संक्रमण पुष्टि भइसकेको छ। बनेपामा हालसम्म कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ। पछिल्ला केही दिनदेखि काभ्रेमा दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन्।

जिल्लामा पछिल्लो २४ घण्टामा १७८, अघिल्लो दिन १९८ तथा शुक्रबार १५१ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। दैनिक ३० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्याङ्कले देखाएको छ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार हाल जिल्लामा एक हजार ९८९ सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौँरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्रमित छन्।

कूल सङ्क्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ८५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .