पछिल्लो समय भारतको महराष्ट्र राजयमा कोरोनाविरुद्धको खोप लगाउने क्रममा लापरबाही भइरहेको खबर आइरहेका छन्। त्यहाँको जालना जिल्लामा एक वृद्धलाई पहिलो र दोस्रो डोज लगाउँदा फरक फरक कम्पनीका खोप परेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई पहिलो डोज कोभ्याक्सिन लगाइएको थियो भने दोस्रो डोज कोभिसिल्ड लगाइएको हो। यदि यो लापरबाही नभएर जानीजानी गरिएको भए? वैज्ञानिकको मनमा यो प्रश्न पनि थियो।
यसकारण उनीहरूले यस विषयमा अनुसन्धान गरेका छन्– एउटै व्यक्तिले फरकफरक कम्पनीका खोप लगाए के हुन्छ?
ठूलो खतरा हुँदैन
अक्सफोर्ड युनिभर्सिटीले गरेको अनुसन्धानले फरक फरक कम्पनीका खोप लगाउँदा त्यस्तो कुनै ठूलो खतरा देखिएन। तर साइडइफेक्ट भने देखिन्छन्। अहिलेसम्म यो विषयचाहिँ प्रस्ट हुन सकेको छैन– ककटेल भ्याक्सिन लगाउँदा इम्युनिटी पावर कस्तो हुन्छ?
‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार पहिलोपटक मानिसलाई अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप (कोभिसिल्ड) दिइयो भने चार हप्तापछि उनीहरूलाई फाइजर कम्पनीको खोप लगाइयो।
परिणाम– यसरी फरकफरक कम्पनीका खोप लगाएका मानिसमा साइडइफेक्ट धेरै देखिए। चिसो लाग्ने, ज्वरो आउने, टाउको दुख्ने तथा थकाइ लाग्नेजस्ता साइडइफेक्ट देखिए। तर ती लक्षण चाँडै हराए।
यो अनुसन्धान ५० वर्षभन्दा माथि उमेरका मानिसमा पनि गरिएको थियो। उनीहरूलाई सुरुमा फाइजर कम्पनीको खोप दिइयो भने दोस्रो डोजमा अस्ट्राजेनेका कम्पनीको खोप। तर परिणाममा कुनै परिवर्तन देखिएन।

प्रतिक्रिया