दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यतिबेला सबै अस्पतालमा संक्रमितको चाप बढेको छ। जसका कारण अस्पतालमा बेड पाउन निकै मुस्किल भइरहेको छ।
पीसीआर पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्न हुँदैन, यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्छ। फिभर क्लिनिकमा चिकित्सकको जाँच, एक्सरे आदि हुन्छ। त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नका लागि अनुरोध गर्नुपर्छ।
त्यस अस्पतालमा बेड नपाए आफैं अस्पताल खोज्दै भौतारिनु हुँदैन। त्यहाँ रहेका ट्रली, कुर्सी, चौर, बरण्डा जहाँ भए पनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ। अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ। कहिलेकाहीं केही घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ। ट्रली वा कुर्सीमा बसेर उपचार गरिरहेका बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्छ वा आफैं बेड खोजेर अर्को अस्पतालमा पठाउँछ।
आईसीयूमा बस्नुपर्ने अवस्था भए अस्पतालले या आईसीईयूमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आईसीयू खोजेर पठाउँछ्र। यहीबीच स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजी गर्न सकिन्छ।
यस्तो बेला उच्च मनोबलले निकै काम गर्छ। धेरै बिरामी भुइँमा सुतेर भए पनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिँदा जीवनलीला समाप्त गरेका छन्। जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ।
आफूले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसँग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ। अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ। गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ। विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भए पनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्न हुँदैन।
अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्त्वपूर्ण लाग्छ। सबै चिकित्सक तथा नर्सले आफूलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ। चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ। तसर्थ तपाईंलाई कम महत्त्व दिनुको अर्थ तपाईंको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्छ। आफूलाई समस्या परेमा स्पष्ट रूपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्छ। शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ।
सबैभन्दा ठूलो कुरा त मनोबल नै हो। म अस्पतालमा छु, छिटो/ढिलो उपचार पाउँछु। बेड पनि पाउँछु र सञ्चो भएर घर फर्किन्छु भन्ने तीव्र इच्छाशक्तिले तपाईंलाई बचाउनेछ। कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ। यस्तो अवस्थामा कोभिडका कारणभन्दा पनि आत्तिएका कारण स्वास्थ्य जटिल हुन्छ।
एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यही एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्याउँछ। आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भए पनि आकस्मिक घटना हुन सक्छ। तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिन हुँदैन। कहिल्यै पनि आत्मबलभन्दा रोग ठूलो हुँदैन।
यो पनि : कोरोना संक्रमितलाई बेडः तथ्यांकमा पर्याप्त छ, अस्पतालमा एउटै छैन

प्रतिक्रिया