समाज


पत्रकार महासंघ केन्द्रसहित ७ शाखाद्वारा आइसोलेसन सेन्टरको व्यवस्था

पत्रकार महासंघ केन्द्रसहित ७ शाखाद्वारा आइसोलेसन सेन्टरको व्यवस्था

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १२:२१,

नेपाल पत्रकार महासंघका सातवटा जिल्ला शाखाले कोरोना संक्रमणबाट पीडित पत्रकारका लागि आइसोलेसन सेन्टरको व्यवस्था गरेका छन्।

अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको महासंघले जनाएको छ।

यस्तै, महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी जनाएको छ।

संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी पनि दोस्रो लहरको कोरोना भाइरसबाट नराम्ररी प्रभावित हुन पुगेका छन्।

महासंघमा अभिलेखभएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये २५२ जना अहिले सक्रिय संक्रमित छन्। जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ रहेका छन्।

महासंघका अनुसार संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आईसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ।

महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ।

‘यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न र आइसोलेसन सेन्टरको व्यवस्थाका लागि सक्रिय सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुलाई अनुरोध गरेको छ। सोका लागि आवश्यक सामग्री जुटाउन पहल गरिने तथा स्थानीयस्तरबाट स्वास्थ्य सामग्री वितरण गर्न गराउने कार्यमा सक्रिय हुन महासंघ आग्रह गर्दछ’ महासंघले भनेको छ, ‘यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ।’

आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ।

कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग महासंघ आग्रह गरेको छ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघ सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .