समाज


कस्तो रहला यस वर्षको मनसुन? मौसमविद्को निष्कर्ष यस्तो छ

कस्तो रहला यस वर्षको मनसुन? मौसमविद्को निष्कर्ष यस्तो छ

नारायण ढुंगाना
बैशाख २३, २०७८ बिहिबार ०:५५,

यस वर्षको मनसुनमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधीमा सुदूरपश्चिम, कर्णाली गण्डकी र वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नम्बर १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना छ। त्यहाँ ३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान विभागले गरेको छ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिमपात) हुने अनुमान गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् ड.इन्दिरा कँडेलले जानकारी दिइन्। यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुने छ। जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान सार्वजनिक गरेको हो।

औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्ले बताएका छन्। विभागका उपमहानिर्देशक ड.अर्चना श्रेष्ठले गत वर्ष बाढी पहिरोले क्षति पु¥याएको ठाउँमा र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिइन्।

प्राप्त विवरणमा लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशको तराई र प्रदेश नम्बर २ को पश्चिमी भूभागमा सरदर वर्षा (३५ देखि ४५ प्रतिशत) हुने, र प्रदेश १ को तराई र प्रदेश नम्बर २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद्का अनुसार नेपालमा आगामी जेठ १८ देखि मनसुन भित्रिँदै छ । यसको अवधी असोज १४ सम्म रहने छ। गत वर्ष मनसुन शुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो।

प्रदेश नम्बर १ र २ तथा वाग्मती प्रदेशको केही भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने तथा परासी, नवलपुर, पाल्पाका केही भूभागमा बाहेक देशका अन्य भूभागमा सरदरभन्दा कम तापक्रम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसैगरी प्रदेश नं १ र २ को पूर्वी भाग, गण्डकी, सुदुरपश्चिम प्रदेशको अधिकांश भागमा न्यूनतम तापक्रम सदरदभन्दा बढी र लुम्बिनी प्रदेशको तराई क्षेत्र बाहेकमा सरदरभन्दा कम तापक्रम हुने अनुमान गरिएको छ।

विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायू सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायू दृष्टिकोण मञ्चको आँकलनको आधारमा उक्त निष्कर्ष निकाली सार्वजनिक गरेको हो।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायू प्रारूपको मनसुन अवधिको आँकलन, यूरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी यस्तो अनुमान सार्वजनिक गरेको हो।

‘यद्यपि जलवायु प्रणाली विभिन्न ऋतुगत सामुद्रिक तथा वायूमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुन्छ। जलवायु प्रारूपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न कठिन हुन्छ, हामी बेलाबेलामा पुर्वानुमान अपडेट गराउँदै जानुपर्छ। त्यो गर्छौं,’ कँडेलले भनिन्।

मौसम पूर्वानुमानका लागि यही वैशाख १५ गते दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । त्यसमा नेपाल, भारत, म्यान्मालगायत ९ देशका मौसमविद्को सहभागिता थियो।

उक्त सम्मेलनमा विश्व मौसम सङ्गठन, त्यसको क्षेत्रीय लजवायु केन्द्र भारत, युके मेट अफिस वेलायत, रिम्स थाइल्याण्ड, ईन्टरनेशनल रिसर्च इन्स्टिच्युट अमेरिका, जापान मेट्रोलोजिकल एजेन्सीलगायत संस्थाका विज्ञको सहभागिता थियो।

वरिष्ठ मौसमविद् बरुण पौडेलले यसपालीको प्रिमनसुनमा कम वर्षा र जाडोको समयमा खडेरी भए पनि अबको मनसुनमा हुने वर्षा आँकलनले सावधानी अपनाउनु पर्ने आवश्यकता औँल्याए। ‘पहाडी भूभाग र जोखिम क्षेत्र भनेर पहिचान भएको क्षेत्रमा पहिरो जान सक्छ, सम्बन्धित निकाय आजैदेखि तयारीमा जुट्नुपर्छ सर्वसाधारंण पनि चनाखो हुनुपर्छ,’ पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .