समाज


ट्राफिक प्रहरी हत्या : सीसीटीभीबाट पहिचान, १३ वर्षीय बालकबाट खुलासा

दुई जनाले फकाएर लगे, ७ जनाले पालैपालो कुटेर मारे
ट्राफिक प्रहरी हत्या : सीसीटीभीबाट पहिचान, १३ वर्षीय बालकबाट खुलासा

उजिर कार्की
जेठ ६, २०८१ आइतबार १४:३५, काठमाडौँ

मनमैजुमा शुक्रबार भएको ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले हत्यामा संलग्न रहेको आरोपमा शनिबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ लफ्याङ घर भएका ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको शुक्रबार दिउँसो शव फेला परेको थियो। उनको हत्या भएको आशंकामा अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेजका आधारमा हत्या आरोपीको पहिचान गरेको हो। 

हत्या आरोपमा भक्तपुर चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधिखोला गाउँपालिका–३ की २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धारा कार्की, उनकी आमा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालक रहेका छन्।

उनीहरू यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ। 

घटनास्थल आसपासका सीसीटीभी फुटेजका आधारमा आरोपितको पहिचान गरेको प्रहरीले सुरुमा १३ वर्षीय नाबालकलाई पक्राउ गरेको थियो। 

ती बालकको सहयोगमा प्रहरीले अन्य आरोपिलाई पनि पक्राउ गर्न सफल भएको हो। 

सँगै मदिरा सेवन, मदिराकै लतमा हत्या
प्रहरी जवान घिमिरे दरबारमार्ग बृत्तमा कार्यरत थिए। गत बिहीबार राति साढे ८ बजे उनी ड्यूटीबाट प्रहरीकै लुगामा फर्किएका थिए। तर उनी ९ बजेतिर काठमाडौँको तारकेश्वर नगरपालिका ९ मनमैजुको एउटा खाजा घरमा पुगे। 

त्यहाँ घिमिरेले पहिलेदेखि नै चिनेका सचिन परियार र अन्जली श्रेष्ठ खाना खान गएका थिए। उनीहरू छ्याङ खाइरहेका थिए। युवराज पुगेपछि उनलाई पनि छ्याङ खान भने। 

होटलवाला सचिनका चिनजानकै हुन्। युवराज बसपार्क क्षेत्रमा कार्यरत रहँदा सचिनसँग चिनजान भएको थियो। सचिन भारी बोक्ने काम गर्थे। 

पहिल्यैदेखि चिनजानका सचिनसँग बसेर युवराजले छ्याङ र चुरोट खाए। त्यसपछि सचिनले युवराजलाई कोठा पुर्‍याईदिन भने। तर युवराज मानेनन्। 

पछि युवराज मातेको तालमा मोटरसाइकलमा हिँड्न खोजे। युवराज जान खोजेपछि सचिनले अन्जलीलाई पनि बस्न भने र आफू पनि सोही मोटरसाइकलमा बसेर तीन जना बाटो लागे।

मनमैजुको बासुकी नाग टोलस्थित जोनस भन्ने दामोदर खत्रीको २ तले निर्माणाधीन घर नजिकै पुगेपछि सचिनले सुरूमा हेल्मेटले युवराजलाई प्रहार गरे। हेल्मेटले हानेपछि युवराज पानी माग्न थाले।

तर नजिकै रहेका अरू साथीलाई पनि सचिनले बोलाए। 

अनि ७ जना भएर पालैपालो ढुंगा र इट्टाले प्रहार गरेर युवराजको हत्या गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वशन्त रजौरेले बताए। 

हत्यापछि युवराजका सबै कपडा खोलेर नजिकै आगो बालेर जलाइदिए। युवराजको शव पनि अर्को ठाउँमा लगेर छोपिदिए। 

त्यसपछि सातै जना त्यहाँबाट राति नै बाटो लागे। जरंखुमा पुगेर उनीहरू त्यहाँको एउटा घरको बार्दलीमा सुते। तर भोलिपल्ट सचिनबाहेक अरू फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ।

शनिबार प्रहरीले सुरुमा ती १३ वर्षीय बालकलाई फेला पार्छ।

सुरुमा ती बालक आत्तिन्छन्।

तर प्रहरीले उनलाई फकाउँदै घटनाको बारेमा सोधिखोजी सुरु गर्छ। ती बालकले नै घटना कसरी भयो र को को थिए भन्ने खुलाउँछन्।

प्रहरी ती १३ वर्षीय बालकलाई लिएर शनिबार दिनभर उनीहरू बस्ने सम्भावित क्षेत्रतिर डुल्छ। तर साँझ ७ बजेतिर बुद्ध लामा, दोर्जे भन्ने अमृत तामाङ र अन्जलीसहित अहिले घटनामा संलग्नता नदेखिएका अरु व्यक्तिलाई पनि पक्राउ गर्छ। 

उनीहरूलाई प्रहरीले हवाई फायर गरेर पक्राउ गरेको थियो। धेरै जनाको संलग्न भए पनि यो घटनामा संलग्नता खुलिसकेका तीन जना मात्रै उक्त स्थानमा रहेको परिसरका अनुसन्धान अधिकारी बताउँछन्। 

प्रहरीले यो घटनाको अनुसन्धान गर्ने क्रममा १६ जनालाई पक्राउ गरेको छ। तीमध्ये ७ जनाको मात्रै पहिचान खुलेको अनुसन्धान अधिकारीले बताएका छन्। 

तर हत्याका मुख्य आरोपी सचिन भने आइतबार बिहान ३ बजेतिर मात्रै पक्राउ परेका हुन्। युवराजसँग भएको रकम पनि उनीहरूले लुटेका थिए।

रकम लुट्ने उदेश्यले नै हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने एसएसपी रजौरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad