ad ad

कला


चोरीको संगीतलाई प्रथम पुरस्कार, मूल सर्जक आलोकश्री भन्छन्– ममाथि अन्याय भयो

चोरीको संगीतलाई प्रथम पुरस्कार, मूल सर्जक आलोकश्री भन्छन्– ममाथि अन्याय भयो

राधिका अधिकारी
जेठ ६, २०८१ आइतबार १८:६, काठमाडौँ

गएको चैत १८ गते रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव सम्पन्न भयो। हरेक वर्षझैँ यसपटक पनि रेडियो नेपालले राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता गर्‍यो। दशकअघिको जस्तो आकर्षण नभए पनि रेडियोमा आउने प्रतियोगीको संख्या उल्लेख्य थियो।

यस वर्ष देशभरबाट ७४ जना प्रतियोगी रेडियोको प्रांगणमा आए। यी सबै प्रतियोगीलाई पछि पार्दै संगीततर्फ ज्योतिप्रकाश उत्कृष्ट भए। ज्योतिप्रकाश ‘भन्नलाई त सजिलो छ’ बोलको गीतमार्फत प्रतियोगितामा सामेल भएका थिए।

यस गीतको संगीत चर्चित संगीतकार आलोकश्रीले दशकअघि संगीत गरेको ‘सुन्नेलाई सुनको माला’सँग हुबहु मिलेको छ। 

‘सुन्नेलाई सुनको माला’ र ‘भन्नलाई त सजिलो छ’ दुवै गीत संगीत व्याकरणअनुसार डी मेजर (रे स्वर) बाट उठान गरिएको छ भने ३÷४ (दादरा) तालको प्रयोग गरिएको छ। मध्यमा सारंग रागलाई आधार बनाएर करुण रसमा निर्माण गरिएको छ। 

रेडियो नेपालको आधुनिक गीत प्रतियोगिताको नतिजा सार्वजनिक भएसँगै उक्त संगीतलाई लिएर विवाद भएको थियो। गीतकार रमेश सुवेदीले त सामाजिक सञ्जालमै प्रश्न उठाएका थिए। उनले सामाजिक सञ्जालमा उत्कृष्ट संगीत कसरी भयो भन्ने प्रश्नसहित दुवै गीतको भिडियो राखेका थिए। उनले लेखेका थिए, ‘नेपाली संगीतको जननी सर्वोच्च संस्था रेडियो नेपालले बनाएको २०८० सालको उत्कृष्ट संगीतकारको गीत। ओरिजिनल (सक्कली) र कपी (नक्कली) कुन हो, आफै जान्नु होला।’

स्टाटस राखेको २ दिनपछि सुवेदीले सामाजिक सञ्जालबाट उक्त टिप्पणी हटाए। किन हटाए भनेर बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
प्रतियोगिता सम्पन्न भएको एक सातापछि बल्ल सञ्चार माध्यममा समाचार आयो, ‘ज्योतिप्रकाशको संगीत उत्कृष्ट’ भनेर।

समाचार बनाउने बेलासम्म सामाजिक सञ्जालबाट ज्योतिप्रकाशले रेडियो नेपालमा गाएको गीतको भिडियो क्लिप पनि डिलिट गरियो। तर, रेडियो नेपालको आधिकारिक युट्युब च्यानलमा उक्त गीत भेटिन्छ। ३ घण्टा १७ मिनेट लामो भिडियोमा २ घण्टा १८ मिनेटमा उनको गायन सुनिन्छ।  

रेडियो नेपालको नियमअनुसार हरेक वर्ष नवीन संगीतलाई उत्कृष्ट मान्ने हो। प्रतियोगितामा भाग लिन भने स्थापित संगीतकारसमेत पुग्छन्। अर्थात् रेडियो नेपालले प्रदान गर्ने यो उपाधिको मोह गीत संगीतमा लाग्ने प्रायःमा देखिन्छ। 

चित्रकारको परिचय बनाएका ज्योतिप्रकाशको पनि केही वर्षयता संगीतमा बाक्लै उपस्थिति देखिन्छ। यसअघिका केही प्रतियोगितामा पठाएका उनका अन्य संगीत पनि पुराना कालजयी गीतसँग मिलेकै कारण प्रतियोगिताबाट फालिएको जानकारहरू बताउँछन्।

यसपटक वर्षकै उत्कृष्ट संगीतकारका रूपमा उनलाई उभ्याएको ‘भन्नलाई त सजिलो छ’ गीत आलोकश्रीको ‘सुन्नेलाई सुनको माला’बाट हुबहु साभार गरिएको पाइएपछि भने उनीमाथि गम्भीर प्रश्न तेर्सिएको छ।

यी दुई गीतका स्केल, राग, ताल हुबहु मिलेपछि ज्योतिप्रकाश ‘सुन्नेलाई सुनको माला’बाट प्रभावित मात्रै नभएर ‘चोरी’ नै गरेको आरोप खेप्न पुगेका छन्। 

गायनमा केही फरकपन भेटिन्छ। ईश्वर अमात्य र ज्योतिप्रकाशले आ–आफ्नै शैलीमा गाएका छन्। तर, संगीत हुबहु मिल्नु र कुनै अध्ययनबिनै उत्कृष्ट घोषणा गरिनु दुःखद रहेको संगीतका जानकारहरू बताउँछन्। उनीहरूका अनुसार, ताल दादरा र स्केलः डि मेजर नै प्रयोग गरिएको गायन शैली र शब्दमा लिइएको तरिकालाई अलिअलि मात्रै भन्न मिल्दैन। स्थायी र अन्तरा त्यही संगीत (सुन्नेलाई सुनको माला)लाई साभार गरेर तयार गरिएको अर्को (भन्नलाई त सजिलो छ) गीतको संगीत शत–प्रतिशत मिलेको छ।

आफ्नै संगीतको कपी गरेर उत्कृष्ट भएका ज्योतिप्रकाशलाई आफूले नचिन्ने संगीतकार आलोकश्रीले बताएका छन्। आइतबार बिहान नेपालखबरले सम्पर्क गर्दा आलोक स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहेका थिए। 

उनका लागि भने यो नौलो घटना नै लागेको छैन। किनभने, उनी आफ्ना अरू संगीत पनि चोरिएका कारण आजित छन्।

‘यसअघि भएका केही संगीत चोरीसँग जानकार छु, यसपटक थाहा पाएको थिइनँ,’ उनले भने, ‘पछिल्लो समय मेरा संगीतहरू चोरी भइरहेका छन्। ‘सुन्नेलाई सुनको माला’जस्तो कालजयी संगीत जिन्दगीमा पटकपटक गर्न सकिँदैन। त्यो पनि कुनै खास परिस्थितिमा सिर्जना भएको थियो।’

संगीतकार आलोकश्री। फाइल तस्बिर।

उनी अगाडि थप्छन्, ‘एक समयको कालजयी गीतको संगीत थाहा नपाएर रेडियो नेपालले चोरीको संगीतलाई उत्कृष्ट बनाउनु ममाथिको अन्याय हो। सबैभन्दा धेरै रेडियो नेपालबाटै बजेको गीतको संगीत चोरी हुँदा कसरी थाहा भएन र संगीत शाखाले प्रतियोगितामा सामेल मात्रै होइन, उत्कृष्ट नै घोषणा गर्‍यो?’

यस विषयमा प्रतिक्रिया लिन खोज्दा ज्योतिप्रकाश सम्पर्कमा आउन चाहेनन्

प्रतियोगितामा नेपाली आधुनिक गीतमा कहलिएका गायक संगीतकार माइला लामा, गायिका लोचन भट्टराई र गायक तथा संगीतकार मुरलीधर निर्णायक थिए। रेडियोमा छुट्टै संगीत शाखा छ। जसका प्रमुख छन्, संगीतकार मनराजा नकर्मी। आफूमाथि उठेको प्रश्नको खण्डन गर्नु न रेडियो प्रशासनले पनि जरुरी ठान्यो, न त निर्णायकहरूले। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .